Techie IT
२०८१ चैत्र २६, मंगलबार

स्वदेश फिर्तीको दबाबमा हजारौँ अफगानी


संयुक्त राष्ट्रसङ्घ र तालिबानका अधिकारीहरूले हालैका दिनहरूमा हजारौँ अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको बताएका छन्।

पाकिस्तानले गत महिना अप्रिलको सुरुमा पाकिस्तानी अधिकारीहरूले जारी गरेको अफगान नागरिक कार्ड (एसीसी) बोकेका करिब आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको थियो।

सन् २०२३ मा दशौं हजार अफगानीहरू पाकिस्तानमा निर्वासनको धम्की दिएर भागेका यस्तै दृश्यहरू सम्झँदै उत्तरको तोरखाम र दक्षिणमा स्पिन बोल्डकको मुख्य सीमा नाकामा आफ्ना सामानसहित अफगानी परिवारहरू लाइनमा उभिएका देखिन्थे ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार सामाजिक सञ्जाल एक्समा जारी एक पोस्टमा जनाएको छ, “पछिल्लो दुई दिनमा आठ हजार २५ जना कागजातविहिन र एसीसी होल्डरहरु तोरखाम र स्पिन बोल्डक सीमा पार गरेका छन् ।”

तालिवान अधिकारीहरूले पनि हजारौं मानिसहरूले सीमा पार गरेको तर आईओएमको रिपोर्टभन्दा कम दरमा रहेको बताएका छन्।

शरणार्थी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले एएफपीसँग कुरा गर्दै अप्रिलको सुरुदेखि अहिलेसम्म छ हजारदेखि सात हजार अफगानी नागरिक स्वदेश फर्केको जानकारी दिँदै रमजानको अन्त्यसँगै बिदा सकिएपछि आगामी दिनमा यो सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

उनले भने, “हामी पाकिस्तानी अधिकारीहरूलाई अफगानीहरूलाई जबर्जस्ती देश निकाला नगर्न आग्रह गरिरहेका छौँ । दुवै देशबीच सहमतिसहितको उचित संयन्त्र हुनुपर्छ र उनीहरूलाई सम्मानका साथ फिर्ता गरिनुपर्छ।”

संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ३० लाख अफगानीहरू पाकिस्तानमा बस्छन् र तीमध्ये धेरै आफ्नो देशमा दशकौँको युद्ध र सन् २०२१ मा काबुलमा तालिबानको सत्तामा फर्केपछि त्यहाँबाट भागेका व्यक्ति हुन् ।

तालिवानले कब्जा गरेदेखि नै दुई छिमेकी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध चिसिएको छ । पाकिस्तानले काबुलका शासकहरूले अफगान भूमिमा आश्रय लिइरहेका पाकिस्तानी लडाकूहरूलाई निस्तेज पार्न असफल भएको आरोप लगाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट