Techie IT
२०८१ चैत्र १९, मंगलबार

पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु


अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

“एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,” स्रोतले भन्यो । घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।

प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ । गत महिना आतङ्ककारीहरूले सयौं रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनौँ  सैनिकहरूको हत्या गरेका थिए ।

चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् । खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो । इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो ।

यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट