रूसी भूमिमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको आह्वान

मस्को / किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गर्दै जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति दिने घोषणा गरेका छन् । रूसी टेलिभिजनमार्फत सम्बोधन गर्दै पुटिनले कुस्र्क क्षेत्रमा घेराबन्दीमा परेका युक्रेनी सैनिकलाई हतियार त्याग्न अपिल गरेका हुन् ।
पुटिनको यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘शान्ति प्रक्रियालाई बिथोल्ने प्रयास’ भएको आरोप लगाएको केही घण्टापछि आएको हो।
ट्रम्पको युद्धविराम प्रस्ताव
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न आग्रह गर्दै पुटिनसँग 'फलदायी' वार्ता भएको बताएका छन् । ट्रम्पका अनुसार, उनका राजदूत स्टिभ विटकोफले पुटिनसँग भेट गर्दै ३० दिनका लागि युद्धविरामको प्रस्ताव गरेका थिए । “यदि रुसले उनीहरू (युक्रेनी सेना) विरुद्ध आक्रमण गर्यो भने, यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा भयानक नरसंहार हुनेछ,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेखेका छन्।
युद्धभूमिमा तनावपूर्ण अवस्था
रुसले गत हप्ता युक्रेनद्वारा कब्जा गरिएका भूभाग पुनः नियन्त्रणमा लिने क्रममा कुस्र्क क्षेत्रको पश्चिमी सीमा क्षेत्रमा तीव्र सैन्य कारबाही गरिरहेको छ । यो क्षेत्र युक्रेनका लागि तीन वर्षदेखिको संघर्षमा शान्ति वार्तामा बार्गेनिङ कार्डको रूपमा रहेको मानिन्छ।
तर युक्रेनी सैन्य कमान्डले रूसी दाबीको खण्डन गर्दै घेराबन्दीको कुरा असत्य भएको दाबी गरेको छ। युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा लेखेको छ, “हाम्रो कुनै पनि युनिट घेरिएको छैन, न त प्रत्यक्ष संकटमा छ।”
राष्ट्रपति जेलेन्स्कीले पनि कुस्र्क क्षेत्रमा स्थिति कठिन रहेको स्वीकार गरे पनि युक्रेनी सेनाले अझै प्रतिरोध गरिरहेको बताएका छन्। उनले पूर्वी फ्रन्टको पोक्रोभ्स्क क्षेत्रमा नियन्त्रण कायम राख्न युक्रेनी सेनाले सफलता पाएको र यसले रूसी सेनालाई अन्य क्षेत्रबाट फिर्ता जान बाध्य बनाएको दाबी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस