टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

बर्लिन नजिकै अवस्थित अमेरिकी इलेक्ट्रिक गाडी निर्माता टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारहरूको तलब रोकेको आरोप जर्मनीको प्रमुख ट्रेड युनियन ‘आईजी मेटल’ले लगाएको छ ।
युनियनका अनुसार, अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीहरूद्वारा पेश गरिएको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको छ र त्यसकै आधारमा कतिपय कामदारको तलब नदिइएको हो ।
"कम्पनीले कहिलेकाहीँ ‘ओभरपेमेन्ट’ (अत्यधिक तलब दिएको) को हवाला दिँदै ती कामदारहरूलाई ऋणमा परेको देखाएर पारस्परिक सहमतिमा जागिर छोड्न दबाब दिने गरेको पाइएको छ," आईजी मेटलले भनेको छ।
टेस्लामाथि बढ्दो दबाब
जर्मनीको ग्रुनहाइडमा रहेको टेस्ला कारखानामा ११ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । युनियनको भनाइअनुसार, अन्य औसत कम्पनीको तुलनामा टेस्लाका कामदारले श्रम विवादमा कानुनी सहायता लिने सम्भावना २१ गुणा बढी छ । टेस्लाले जर्मनीको लोकप्रिय ट्याब्लोइड ‘बिल्ड’लाई दिएको प्रतिक्रिया अनुसार, कम्पनीमा महिनामा करिब एक दर्जन यस्ता मुद्दा आउने गरेको स्वीकार गरिएको छ । यद्यपि, कम्पनीले यी आलोचनालाई अस्वीकार गर्दै भनेको छ, “सामूहिक दुर्व्यवहार भएको भन्ने दाबी वास्तविकताको जानाजानी विकृति हो ।”
यसैबीच, टेस्लाको कार बिक्रीमा गिरावट आउन थालेको छ । जनवरीयता कम्पनीले जर्मनीको बजारमा आफ्नो हिस्सामा गिरावट भोगिरहेको छ । अर्कोतर्फ, एलन मस्कले अति दक्षिणपन्थी दल एएफडीलाई समर्थन गरेको भन्दै पनि जर्मनीमा आलोचना खेपिरहेका छन् । त्यसैगरी, हालै बर्लिनमा टेस्लाका चार वटा कारमा आगलागी भएको घटना प्रहरीद्वारा पुष्टि गरिएको छ। घटनाको अनुसन्धान जारी छ।
तपाईको प्रतिक्रिया दिनुहोस