Techie IT
२०८१ चैत्र २२, शुक्रबार

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक


तानसेन (पाल्पा) ।  सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।

पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचानसहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना विषय र अधिकारबारे खुलेरै बोले ।

आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा थोरै मात्रै उपस्थित हुने गरे पनि सचेतनाका कारण पछिल्लो उपस्थिति बढ्दै गइरहेको साहसी कदम नेपालकी संस्थापक अध्यक्ष तथा यौनिक अल्पसङ्ख्यक महिला हसिना क्षेत्री बताउँछन् । पछिल्लो समय आफ्ना पहिचानबारे खुल्न सक्ने अवस्था बनेको उहाँले सुनाउनुभयो । “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आन्दोलन गर्नुपर्दा पहिला दुई चारजना मात्रै देखिन्थे, हाल त्यो सङ्ख्या बढेको छ । गर्वका साथ बाहिर निस्कने अवस्था छ । आफू के हो भनेर खुल्ने माहोल बनेको छ, यो सबै सचेतनाका कारण हो”, क्षेत्रीले भने ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समाजमा पहिचानसहित खुल्न थाले पनि राज्यको नीति, कार्यक्रम तथा योजनामा नपर्दा अधिकार प्राप्तिको सङ्घर्ष भने जारी छ । संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको यो समुदायका नागरिकको गुनासो छ । संस्थाकी संस्थापक अध्यक्ष क्षेत्रीले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको बताए । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उनको भनाइ छ ।

संस्थाकी कार्यक्रम निर्देशक रेसम न्यौपाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताउनुहुन्छ । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उहाँको गुनासो छ । 

“नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानुनी समस्या कायमै छ । नागरिकता पाउन लिङ्ग पुष्ट्याइँ गर्नुपर्नेजस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भने ।

नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचानसहितको ‘रिपोर्ट’ लिएर आउनु भनेर फर्काइने गरेको उनले सुनाए । “स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयमा हाम्रो आपत्ति होइन तर परीक्षण गराउन जाँदा पाँच/छ जना डाक्टर वरिपरि बसेर हामीलाई नाङ्गै हुन लगाइन्छ र पालैपालो हाम्रा यौनाङ्ग खेलाइन्छ । त्यसपछि मात्र कागज लेखेर पठाइन्छ । हालसम्म यस्तो यातना सहनु परेको छ”, न्यौपानेको कथन थियो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन् । जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भन्ने गरिएको छ ।

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताए । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानुनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”, उनले भने ।

उपप्रमुख प्रतीक्षा सिञ्जालीले सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान सके समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताएकी छन् । उनले संविधानमा व्यवस्था भएबमोजिम यो समुदायको अभियानमा नगर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

साहसी कदम नेपालकी सदस्य इन्द्रादेवी सारु मगरले आफू यौनिक अल्पसङ्ख्यक नभए पनि यस्ता समुदायका व्यक्तिलाई समस्या पर्दा सहयोग गर्ने हुँदा आफूलाई पनि साथीहरूबाट नराम्रो दृष्टिकोणले हेर्ने गरेको गुनासो गरेकी थिइन् । उनले भनिन्, “साथी, सङ्घसंस्थाहरू छोडे तर यी समुदायका व्यक्तिहरूलाई सहयोग गर्न छोडेकी छैन । हाल संस्थालाई मेरै घरमा निःशुल्क कार्यालय राख्न दिएकी छु ।”    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट