Techie IT

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा स्मार्टफोन आयातमा झण्डै सात अर्ब, व्यापार घाटा: २३७ अर्बभन्दा बढी


चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा नेपालले झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन र भदौ महिनामा मात्र ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरका चार लाख ५४ हजार ९५८ थान स्मार्टफोन नेपालमा भित्रिएका छन्।

यस अवधिमा स्मार्टफोनको आयात तेस्रो स्थानमा रहेको छ भने सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। विभागका अनुसार, पेट्रोलियम पदार्थहरूमध्ये ११ अर्ब ६ करोड ५२ लाख रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ। त्यस्तै, १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ।

स्मार्टफोन र पेट्रोलियम पदार्थपछि एलपी ग्यासको आयात पनि उल्लेख्य छ। भन्सार विभागका तथ्याङ्कले देखाएको छ कि यस अवधिमा ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात गरिएको छ। यसका साथै, सवारी साधनको आयात पनि उच्च रहेको छ। दुई महिनाको अवधिमा २ अर्ब ९४ करोड रुपैयाँ बराबरको मोटरसाइकल र २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको छ।

निर्यातमा कार्पेट, चिया र जुटको दबदबा
आयात मात्र नभई नेपालबाट केही वस्तुहरूको निर्यात पनि उल्लेख्य रहेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले सबैभन्दा धेरै कार्पेट निर्यात गरेको छ। भन्सार विभागका अनुसार, १ अर्ब ९९ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ।

यसपछि, १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। निर्यात हुने अन्य प्रमुख वस्तुहरूमा जुट, धागो, र जुस जस्ता उत्पादनहरू रहेका छन्।

व्यापार घाटा: २३७ अर्बभन्दा बढी
तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले कुल २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। तर, यस व्यापारमा नेपालले ठूलो घाटा व्यहोरेको छ। साउन र भदौ महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात हुँदा मात्र २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसले गर्दा नेपालले दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ बराबरको व्यापार घाटा सामना गर्नुपरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट