मुग्लान जाने बाध्यता: चाडपर्व सकिएसँगै हजारौं नेपाली पुनः भारततर्फ
चाडपर्व सकिएपछि सुदूरपश्चिमका सीमानाकाहरूमा भारततर्फ फर्किने नेपालीहरूको भीड बढेको छ। सुदूरपश्चिमको प्रमुख नाका त्रिनगरबाट मात्र दैनिक झण्डै १,००० नेपाली रोजगारका लागि भारत गइरहेको सशस्त्र प्रहरी सीमा सहायता कक्षले जनाएको छ।
त्रिनगर नाकाबाट गएको एक सातामा ९,१४९ नेपाली रोजगारीका लागि भारततर्फ गएका छन्। यीमध्ये धेरैजसो चाडपर्व मनाउन घर फर्किएकाहरू पुनः भारत फर्किरहेका छन्।
रोजगारीका लागि बाध्यता
कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले दशैँ-तिहार मनाउन घर आएर अहिले फेरि भारतको रत्नागिरी फर्किन लागेको बताए। उनले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएका छन्। "नेपालमा काम पाउन गाह्रो छ। पाइहाले पनि कमाइले परिवार चलाउन मुस्किल पर्छ। त्यसैले फेरि मुग्लान जानैपर्छ," उनले भने।
डडेल्धुराका गङ्गा महरा र अछामका सन्तोष परियार पनि परिवार भेट्न केही समय घर बसेर अहिले क्रमशः सुरत र मुम्बई जान लागेको बताए ।
सुदूरपश्चिमका पहाडी र तराईका जिल्लाबाट लाखौं नेपाली हरेक वर्ष भारतका विभिन्न सहरमा रोजगारका लागि जाने गर्छन्। खुला सिमाना, सहज रोजगारी र भिसाको आवश्यकता नपर्ने भएकाले उनीहरू भारत जान्छन्।
कतिपयले कृषि कार्यपछि बाँकी समय भारतमा काम गरेर जीविकोपार्जन गर्ने गरेका छन्। आधुनिक सिँचाइ र रोजगारी अभावले उनीहरूलाई विदेश जान बाध्य बनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस