Techie IT

मधेसको पहिचान र अस्मिताको प्रतीक कुस्ती: मन्त्री प्रदीप यादव


खानेपानीमन्त्री प्रदीप यादवले मधेसको संस्कृति, परम्परा र इतिहाससँग गहिरो सम्बन्ध रहेको कुस्ती खेललाई साहस, अनुशासन र शक्तिको प्रदर्शन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएका छन् । 

वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै उनले कुस्तीलाई मनोरञ्जनको माध्यम मात्र नभई मधेसको पहिचान र अस्मितासँग जोडिएको खेलको रूपमा वर्णन गरे।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रहेका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धनलाई वर्तमान समयमा आवश्यक बताउँदै भने, "कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरी आधुनिक पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । यस्ता प्रतियोगिताले युवाहरूलाई कुस्ती खेलप्रति आकर्षित गर्दै शारीरिक तन्दुरुस्ती सुधार र खेलकुदमा भविष्य खोज्न मद्दत पुर्‍याउँछ।"

मन्त्री यादवले यस्ता प्रतियोगिताहरूले खेलकुदको महत्त्वलाई पुनःस्थापित गर्दै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने विचार व्यक्त गरे । "स्थानीय प्रतिभालाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो । यस्तो प्रतियोगिताले युवालाई खेलकुदमा लाग्न प्रेरित गर्छ, जसले स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउँछ," उनले भने।

जनता समाजवादी पार्टीका उपमहासचिवसमेत रहेका मन्त्री यादवले विराट कुस्तीजस्ता प्रतियोगिताहरू मधेसको सांस्कृतिक धरोहरको पुनःरुत्थानमा महत्त्वपूर्ण रहेको बताए । "हामीले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न कुस्तीजस्तो खेललाई संरक्षण गर्नु आवश्यक छ। यसका लागि सरकारको साथसाथै स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ," उनले थपे।

वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा महावीर मन्दिरमा आयोजित यो प्रतियोगितामा पर्सा, बारा, रौतहट तथा भारतका विभिन्न स्थानबाट खेलाडीहरूले भाग लिनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट