तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै
तेह्रथुमको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेल लगायत स्थानीय महिलाहरू जैविक सागसब्जी उत्पादनमा सक्रिय हुँदै आएका छन्। उनीहरूको खेतीमा रासायनिक मल र विषादीको सट्टा कम्पोष्ट मल र जैविक विषादी प्रयोग गरिन्छ। जैविक सागसब्जीबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकि दीपा अहिले स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव पनि हुन्।
लालीगुराँस नगरपालिकाका विभिन्न वडाका महिला किसानहरूले गत पाँच वर्षदेखि जैविक खेतीलाई प्रवर्द्धन गरिरहेका छन्। गीता राई, मेनुका पोख्रेललगायतका किसानहरूले रासायनिक मल र विषादीको प्रयोग नगरी कम्पोष्ट मलको प्रयोग गर्दै सागसब्जी उत्पादनमा जुटेका छन्।
स्थानीय गैरसरकारी संस्था ड्यासले सञ्चालन गरेको तालिमपछि यी किसानहरू जैविक मलमा निर्भर छन्। उनीहरूका अनुसार जैविक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार ल्याउँदै उपभोक्ताका लागि स्वस्थकर उत्पादन सुनिश्चित गरेको छ।
ड्यासले जैविक खेतीसम्बन्धी जनचेतना बढाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ। सागसब्जी खेतीमा चिनी मलको प्रयोग घटाउँदै गाईवस्तुको पिसाबबाट मल उत्पादन गर्न ड्यासले किसानहरूलाई तालिम दिएको थियो।
त्यसैगरी, किसान पाठशाला, जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरेर महिला किसानलाई आर्थिक रूपमा सक्षम बनाउन प्रयास गरिरहेको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका जैविक सागसब्जी उत्पादनको केन्द्रका रूपमा विकास भइरहेको छ। यसले स्थानीयलाई स्वस्थ सागसब्जी उपलब्ध गराउनुका साथै रोजगारीको अवसर पनि सिर्जना गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस