विपदमा नागरिकको जीउधनको सुरक्षा गर्न सरकार असफल : शेखर कोइराला
मन्त्री क्वाटरकै छेउबाट नागरिक बग्दा पनि राज्यलाई कुनै चिन्ता छैन?
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनले हालैको प्राकृतिक विपत्तिका कारण देशभरको अवस्था दयनीय बनेको भए पनि सरकारले आवश्यक तयारी र व्यवस्थापन नगर्दा मानवीय क्षति भएको बताए।
काठमाडौँमा आयोजित नेपाली कांग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिको ‘शुभकामना आदानप्रदान कार्यक्रम’ मा सम्बोधन गर्दै कोइरालाले देशका अधिकांश राजमार्गहरू बन्द भएको, विभिन्न बस्तीहरू डुबानमा परेको र जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट बिच्छेद भएको अवस्थालाई उजागर गरे। उनले भने, "राजधानी काठमाडौँ उपत्यका र बाहिरी जिल्लाहरू बीचको सडक सम्पर्क टुटेको छ। नागरिकहरू चरम सङ्कटमा छन्, तर सरकार कहाँ छ यतिबेला?"
उनले बिपतको बेला सरकारको गम्भीर जिम्मेवारीको अभाव देखिएको दाबी गर्दै हालै राजधानीमै देखिएको घटनालाई उदाहरणस्वरूप प्रस्तुत गरे। कोइरालाले भने, "राजधानीमै हेर्दाहेर्दै नागरिक बगिरहेको घट्नालाई समेत सरकारले बेवास्ता गरेको छ। मन्त्री क्वाटरकै छेउबाट नागरिक बग्दा पनि राज्यलाई कुनै चिन्ता छैन?"
मौसम पूर्वानुमान विभागले केही दिनअघिदेखि नै भारी वर्षाको चेतावनी दिइरहे पनि सरकारले बिपत व्यवस्थापनका लागि कुनै आवश्यक तयारी नगरेको कोइरालाको आरोप छ। उनले सरकारको यस्तो उदासीनताका कारण ठूलो मानवीय क्षति भएको बताए।
कोइरालाले सरकारको यो चरम लापरबाहीप्रति आक्रोश प्रकट गर्दै भने, "सरकार भनेको केवल कुर्सी र पद मात्र होइन, जनताको जिउधनको सुरक्षा पनि हो। तर, सरकार यतिबेला जनताको सुरक्षाका लागि के गरिरहेको छ?"
उनले बिपतको यस्तो घडीमा नेपाली कांग्रेसका हरेक तहका नेताहरूलाई उद्धार र राहतमा सक्रिय हुन पनि आग्रह गरे। "हाम्रो पार्टीका हरेक नेताले अहिलेको अवस्थामा नागरिकहरूको उद्धार र सहयोगका लागि जुट्नुपर्छ," कोइरालाले भने।
तपाईको प्रतिक्रिया दिनुहोस