Techie IT
२०८१ फागुन २५, आइतबार

पक्लिहवा कृषि क्याम्पसमा प्राध्यापकको आन्दोलनले विद्यार्थीहरू मर्कामा, परीक्षा अनिश्चित


रुपन्देहीको पक्लिहवा स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान क्याम्पसमा प्राध्यापक र विद्यार्थीहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू र परीक्षा प्रभावित भएका छन् । प्राध्यापकहरूले भेटेरिनरी अध्ययनलाई कृषिसँग समान मान्यता दिन, विश्वविद्यालयको विभिन्न समितिहरूमा भेटेरिनरी प्राध्यापकको समावेशीकरण र विशेष क्याम्पस स्थापना गर्ने माग राख्दै 'पेन डाउन' आन्दोलन सुरु गरेका छन् । अर्कोतर्फ, विद्यार्थीहरूले पनि परीक्षा सञ्चालन गर्नुपर्ने माग राखि तालाबन्दी गरेका छन् ।

क्याम्पसका भेटेरिनरी संकायका प्राध्यापकहरूले आफूहरूको मागलाई सम्बोधन नगरेको भन्दै गत साउनदेखि आन्दोलन सुरु गरेका हुन्। उनीहरूले विभिन्न मागहरू राखेका छन्, जसमा भेटेरिनरी अध्ययनको समुचित मान्यता, क्याम्पसमा भेटेरिनरी प्राध्यापकको समावेशीकरण, विशेष क्याम्पस स्थापना, र आन्तरिक मूल्यांकनका अंक बुझाउने माग समावेश छन्। 

प्राध्यापक डा. नारायण न्यौपानेका अनुसार, उनीहरूले गत साउनमा डिन समक्ष बुँदागत रूपमा माग राखेका थिए, तर अहिलेसम्म कुनै ठोस निर्णय नआएको उनले बताए । उनीहरूको प्रमुख माग भनेको क्याम्पसमा भेटेरिनरी संकायको अलग पहिचान र अधिक प्रतिनिधित्व प्राप्त गर्नु हो । यसका साथै, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक छानबीन र मूल्यांकन नगरी परीक्षा सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ ।

विद्यार्थीहरूको आन्दोलन
परीक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरू पनि यस आन्दोलनको प्रत्यक्ष प्रभावमा परेका छन् । परीक्षा स्थगित हुँदा उनीहरूको भविष्य अन्धकारमय बनेको छ । विद्यार्थीहरूले भने, 'परीक्षाको समय तालिका निर्धारित नगरेसम्म, हामी निरन्तर आन्दोलनमा रहने बताएका छन्। उनीहरूले क्याम्पस प्रशासन र डिन कार्यालयलाई पनि दबाब दिदैं यदि  उनीहरूको मागप्रति कुनै सुनुवाइ नगरी परीक्षा सञ्चालनमा राखिने हो भने, थप कडा कदम चाल्ने चेतावनी दिएका छन्।

क्याम्पसको परीक्षा शाखाले परीक्षा स्थगित गर्ने सूचना सार्वजनिक गरिसकेको छ। फागुन ९ गतेका लागि भेटेरिनरी संकायको ९ औं सेमेस्टर परीक्षा स्थगित भएको थियो। कृषि संकायको परीक्षा भने फागुन १३ गते सुरु भएको थियो, तर प्राध्यापकहरूको 'पेन डाउन' र विद्यार्थीहरूको तालाबन्दीका कारण बिहीबारका परीक्षा पनि स्थगित गरिएको छ ।

क्याम्पस प्रमुख जन्मजय गैह्रेले भने, 'हामी विद्यार्थी र प्राध्यापकहरूको समस्याबारे छलफल गर्दै, परीक्षा सञ्चालनका लागि पहल गरिरहेका छौं।' उनले प्राध्यापकहरूको मागको बारेमा डिन कार्यालयमा जानकारी पुर्याएको र विद्यार्थीहरूको आन्दोलनका बारेमा व्यवस्थापनमा ध्यान दिइरहेको बताएका छन् ।

आन्दोलनको चपेटामा क्याम्पसको शैक्षिक गतिविधि प्रभावित भए पनि क्याम्पस प्रशासनले सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालन गरेको छ । आन्दोलनका कारण उत्पन्न हुनसक्ने सम्भावित विवाद र दुर्घटनाबाट जोगिन क्याम्पसमा प्रहरी तैनाथ गरिएको छ ।

पक्लिहवा क्याम्पसमा जारी आन्दोलनले क्याम्पसका शैक्षिक गतिविधिहरू र विद्यार्थीहरूको भविष्यलाई संकटमा पारेको  छ । प्राध्यापक र विद्यार्थीहरूको माग र आन्दोलनका कारण परीक्षा र पठनपाठन सबै प्रभावित भएका छन् । क्याम्पस प्रशासनले भने यो समस्याको समाधान गर्ने प्रयास गरिरहेको छ, तर कुनै स्पष्ट समाधान नआएको र आन्दोलनमा सहभागी दुवै पक्षले आफ्नो अडान कायम राखेका छन् । 

विद्यार्थीहरुको आन्दोलनको पक्षमा बोल्दै अखिल(क्रान्तिकारी) नेता तथा रामपुर कृषि क्याम्पस चितवनका स्ववियु सभापति चेतराज जोशीले भने, "विद्यार्थीहरू किताब बोकेर हिँड्छन्, शिक्षकहरूले स्वार्थको भारी, यो कस्तो शिक्षा व्यवस्था? बोर्ड परीक्षा रोक्ने, नतिजा लुकाउने, विद्यार्थीहरूको भविष्यसँग खेल्ने यो कस्तो शिक्षालय? तपाईंहरूलाई तलब, भत्ता, सेवा, सुविधा सबै चाहिने, तर आफ्नो जिम्मेवारी बिर्सिने? विद्यार्थीको भविष्यमाथि सौदाबाजी गर्ने र तपाइँहरूको स्वार्थकै निम्ति पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत भेटेरिनरी विद्यार्थीहरूले आफ्नो भविष्य दाउमा राख्नुपर्ने? स्मरण रहोस्, विद्यार्थीहरू कक्षाकोठामा हुनुपर्छ, आन्दोलनमा होइन। यदि नियमित पढाइ र बोर्ड परीक्षा तत्काल सुचारु गरिएन भने आन्दोलनको ज्वाला तीव्र बन्नेछ र यसको सम्पूर्ण जिम्मेवारी स्वयं संबंधित निकायले ब्यहोर्नु पर्नेछ!"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट