बिजनेसविहीन संसद्मा दर्जन बढी विधेयक विचाराधीन, भर्खर कार्यदल गठन
काठमाडौं । संसद्मा विचाराधीन दर्जन बढी विधेयकमा सहमति जुटाएर पारित गर्न सत्तारूढ कांग्रेस–एमालेले कार्यदल गठन गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त कार्यदल गठन गरेको हो ।
संघीय संसद्मा विचाराधीन रहेका विधेयकलाई सहमति जुटाएर आउँदो अधिवेशनमा पारित गर्ने गरी कांग्रेस–एमालेले कार्यदल गठन गरेको हो ।
कार्यदलमा दुवै दलका संसदीय विभाका प्रमुख, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरू स्वतः सदस्य रहनेछन् । थप सदस्यहरूका कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई तोकिएको छ ।
त्यस्तै एमालेबाट वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ ।
संसद्मा विधेयक विचाराधीन हुने र संसद्ले बिजनेस नपाएर प्रभावहीन बनिरहने अवस्था हुन नदिन विधेयकमाथि पर्याप्त छलफल गरी निकास दिन कार्यदल गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस