Techie IT

कांग्रेस, एमाले र माओवादी संसदीय दलको उपनेता नेताको खल्तीमा


काठमाडौं । सबैभन्दा ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र उपनेताबिहीन छन् । निर्वाचनबाट निर्वाचत सांसदहरूले आफ्नो दलको नेता, उपनेता चयन गर्नैपर्ने राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा उल्लेख गरिएको छ । 

जसअनुसार संघीय संसद् र प्रदेश सभामा कम्तीमा दुई स्थानमा निर्वाचित हुने दलले संघ र प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था गरिएको छ । तर, २०७९ को आमनिर्वाचन सम्पन्न भएयता ती ठूला दलहरूले हालसम्म उपनेता चयन गरेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ को निर्वाचन सम्पन्न पश्चात् हालसम्म उपनेता चयन गरेका छैनन् । देउवा स्वयं २०७९ पुस ६ मा संसदीय दलको नेतामा निर्चाचित भएका थिए । 

दलको नेताका लागि कांग्रेसले निर्वाचन नै गरेको थियो । उक्त निर्वाचनमा उनका प्रतिस्पर्धी पार्टी महामन्त्री गगनकुमार थापा पराजित भए ।

उपनेताका लागि कांग्रेसमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र डा.शशांक कोइराला आकांक्षी छन् । यद्यपि कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो भएकोले उपनेताका लागि पनि निर्वाचन हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । 

त्यस्तै एमाले उपाध्यक्ष एवं संसदीय दलको उपनेता सुवास नेम्वाङको निधन गत भदौ २६ मा भएको थियो । त्यसयता एमालेमा पनि उक्त पद खाली छ ।

उपनेताका लागि अध्यक्ष केपी शर्मा ओली हालसम्म बेखबर जस्तै देखिएका छन् । उपनेताको पद खाली भएको एक वर्ष पुग्दा पनि एमालेमा यसबारे कुनै चासो देखिँदैन ।

पार्टीमा ओलीको एकल राज हुने भएकोले उनले उपनेताको टीका जसलाई लगाइदिन्छन् उनै उपनेता बन्नेमा दुविधा देखिँदैन । एमालेमा उपेक्षामा परेको आन्तरिक लोकतन्त्रले उपनेताका लागि निर्वाचन गर्न नसक्नेमा नेताहरू ढुक्क छन् ।

सो पदका लागि उपाध्यक्षद्वय विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आकांक्षी देखिएका छन् । संसदीय दलको नेतामा अध्यक्ष ओली २०७९ पुस ५ गते सर्वसम्मत चयन भएका थिए ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)मा पनि संसदीय दलको उपनेता पद रिक्त छ । अध्यक्ष प्रचण्ड २०७९ पुस ७ गते सर्वसम्मत दलको नेता चयन भएका थिए ।

२०७९ को निर्वाचन यता माओवादी केन्द्रले उपनेता चयन गरेको छैन । माओवादीमा पनि आन्तरिक लोकतन्त्र मृत भएकोले प्रचण्डले नै उपनेता तोक्ने छन् भने निर्वाचनको सम्भावना न्यून छ ।

उपनेताका लागि माओवादीमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी छन् । तर, उनीहरूको आकांक्षाभन्दा पनि अध्यक्ष प्रचण्डले कसलाई उपनेता चयन गर्छन् यसै भन्न सकिँदैन ।

गत निर्वाचन सकिएलगत्तै संसद्का १४ दलहरूमध्ये ठूला तीन दलबाहेक साना दलहरूले हालसम्म संसदीय दलका नेता, उपनेता चयन गरिसकेका छन् ।

संसदीय दलको उपनेता चयन नगर्नुमा कांग्रेस, एमाले र माओवादी केन्द्रको गैरजिम्मेवारपन नै हो । संसदीय दलको नेता अनुपस्थिति हुँदा उपनेताले संसदीय दलको वैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।

दलको नेताको अनुपस्थितिमा बैठकबाट निर्णय गर्नुपरे समन्वय गर्ने अधिकार पनि उपनेतालाई नै रहेको हुन्छ । संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव आएमा छलफल गर्दा उक्त बैठकमा उपनेताले अध्यक्षता गर्ने अधिकार प्राप्त छ ।

तर, देउवा, ओली र प्रचण्डले हालसम्म उपनेताको पद आफ्नो खल्तीमा राखेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट