रास्वपा संसदीय दलको नेता– ‘यता न उता !’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं संसदीय दलको नेता रवि लामिछानेको सांसद पद निलम्बनमा परेसँगै दलको नेता को बन्ने भन्ने चर्चा सतहमा आएको छ ।
आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकण र संगठित अपराध कसुरमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
यसका साथै पार्टी सभापति पदमा पनि नैतिकताको प्रश्न उठेका छ । तर, उनले सोमबार रास्वपा उपसभापतिसमेत रहेका कार्यवहाक सभापतिको जिम्मा डोलप्रसाद अर्याल (डिपी)लाई दिएका छन् ।
रविको सांसद पद निलम्बनमा परेसँगै संसदीय दलको नेता स्वतः रिक्त भएको छ । रिक्त पदमा कसलाई नेता बनाउने भन्नेबारे रास्वपामा आन्तरिक छलफल भएपनि नेताहरूले यसबारे कुनै टुंगो लगाएका छैनन् ।
दलको उपनेता विराजभक्त श्रेष्ठ छन् । संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले कार्यसम्पादन गर्ने जिम्मा कानुनले नै तोकेको छ । तर, दलको नेता निलम्बनमा परेसँगै उक्त पद रिक्त भएको छ । रिक्त नेताको पदपूर्तिका लागि रास्वपाले हालसम्म कुनै निर्णय गरेको छैन ।
निर्वाचनबाट निर्वाचित सांसदहरूले आफ्नो दलको नेता, उपनेता चयन गर्नैपर्ने राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा उल्लेख गरिएको छ । जसअनुसार संघीय संसद् र प्रदेश सभामा कम्तीमा दुई स्थानमा निर्वाचित हुने दलले संघ र प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस