हिरासतको रास्वपा डिपीको हातमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बल्लबल्ल कार्यवहाक सभापतिको जिम्मा दिएका छन् । उनले सोमबार पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)लाई कार्यवहाक सभापतिको जिम्मा दिएका हुन् ।
हिजो रास्वपा सचिवालय बैठकले डिपीलाई कार्यबहाक सभापति बनाउने निर्णय गरेको पार्टी कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि सभापति रविले कास्की प्रहरी हिरासतबाटै पार्टी चलाएका थिए ।
गत कात्तिक २ गते सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठीत अपराध प्रकरणमा रविलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरैकै साँझ कास्की पु¥याइएको थियो ।
त्यसयता उनले रास्वपा कास्की प्रहरी हिरासतबाटै चलाएका थिए । उनी पक्राउ परेको महिनौँसम्म पनि पार्टी आफ्नै तजबिजीबाट चलाएको भन्दै राजनीतिक वृत्तमा रविको चर्को आलोचना भएको थियो ।
दुईजना उपसभापति डिपी अर्याल र डा.स्वर्णिम वाग्ले हुँदाहुँदै रविले पार्टी सञ्चालनको जिम्मा कसैलाई सुम्पेका थिएनन् । तथापि आइतबार रविविरुद्ध सरकारी वकिल कार्यालयले कास्की जिल्ला अदालतमा तीनवटा मुद्दा दायर गरेपछि कार्यवहाक सभापतिको जिम्मा डिपीलाई दिएका हुन् ।
रास्वपाको कार्यसम्पादनको अख्तियारी डिपीले पाएसँगै हिरासतको रास्वपा अब उनकै हातबाट चल्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस