रास्वपा कार्यवहाक सभापतिमा डिपी–स्वर्णिमको रस्साकस्सी, सहमतिमा टुंग्याउने प्रयास
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवहाक सभापतिमा डोलप्रसाद आर्याल (डिपी) र डा.स्वर्णिम वाग्लेबीच रस्साकस्सी चलेको छ । पार्टी उपसभापतिद्वय डिपी र स्वर्णिमबीच कार्यवहाक सभापति पदमा पुग्न एकआपसमा रस्साकस्सी चलेको हो ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । हिजो (आइतबार) दिउँसो सरकारी वकिल कार्यालयले उनीविरुद्ध मद्दा दायर गरेको हो ।
रविको उक्त अदालतमा थप बयान हुने भएको छ । यस्तो अवस्थामा उनी उपस्थित हुन नसक्ने निष्कर्षसहित रास्वपाले कार्यवहाक सभापतिमा डिपी र स्वर्णिमबीच सहमति जुटाउने प्रयास गरेको छ ।
यद्यपि यसअघि नै स्वर्णिमले कार्यवहाक सभापति डिपीलाई समर्थन गरेका थिए । तर, पछिल्लो समय स्वर्णिमले उक्त पदमा आकांक्षा देखाएको रास्वपाका एक नेता बताउँछन् ।
ती नेताका अनुसार स्वर्णिमले आफूनिकट नेताहरूसँग लबिङ गरिरहेका छन् भने डिपीले पनि आफू निकटस्थसँग सम्बाद अघि बढएका छन् । तथापि यसबारे आज (सोमबार) बेलुकासम्म छलफल हुने कार्यवहाक प्रवक्ता मनिष झाले रैबार प्रेसलाई बताए ।
‘साँझ हामी भर्चुअलमाध्यमबाट मिटीङ बस्दैछौँ । मिटिङले नै कार्यवहाक सभापति कसलाई तोक्ने भन्नेबारे निर्णय गर्नेछ,’ झाले भने, ‘कावा सभापतिका लागि विवाद छैन । हामीले यसअघि पनि एकखाले सहमति गरिसकेका छौँ । सोहीअनुसार नै निर्णय हुन्छ ।’
प्रवक्ता झाले डिपी र स्वर्णिममध्ये कार्यवहाक सभापति को हुने भन्नेबारे खुलाएनन् । बरु उनले बेलुकासम्म निर्णय कुर्न आग्रह गरे । यसअघि पार्टीको कार्यसम्पादन प्रभावित भएको भन्दै कावा सभापति तोक्न डिपीमाथि दबाब परेको थियो ।
त्यसपछि उनले रविलाई पटक–पटक भेटेरै यसबारे निर्णय दिन आग्रह गरेका थिए । तर, रविले अहिले कावा सभापति कसैलाई दिन नसक्ने भन्दै पार्टीपंक्तिलाई आन्दोलनमा उत्रिन निर्देशन दिएको स्रोत बताउँछ ।
सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै रविको सांसद स्वतः निलम्बनमा परेको छ । संघीय संसद् सचिवालयका अनुसार सभामुख घिमिरे छलफलमा रहेको र लामिछानेको पदको विषयमा सोमबार नै सूचना टाँस गर्ने वा नगर्नेबारे निर्णय हुनेछ
उनी गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस