‘बा’हरूको कब्जाबाट युवा कहिले मुक्त हुने ?
(1).png)
अहिले नेपाली राजनीतिमा प्रतिगमनको कालो बादल मडारिरहेको छ । यसका पछाडी कतिपय बाह्यशक्तिको र कतिपय आन्तरिक कारणहरु रहेका छन् । हामी दुई बिशाल मुलुकहरुको बिचमा छौ । हाम्रो भूराजनैतिक अवस्थाले पैदा गरेको जटिलता र शासकहरुमा विगतदेखि नै देखिदै आएको आत्मसमर्पणकारी चरित्रका कारण मुलुक कहिल्यै स्वाधीन र सार्बभौमिक बन्न सकेन ।
राणा बिरोधी आन्दोलनको बैठान २०३६, २०४६ सालको आन्दोलन देखि अहिले सम्म प्राय सबै आन्दोलनहरुमा भारतको बिशेष चासो,सक्रियता र हस्क्षेपकारी भूमिका रहदै आएको छ । संबिधान सभाबाट नया संबिधान जारी गर्ने बेला भारतले हदै सम्मको अवरोध हामीले देखे जानेकै हो । उसको अनाबश्यक हस्तक्षेपको बिरोध गर्दा मुलुकले नाकाबन्दीको ठुलो मार खेप्नुपरेको तथ्य जगजाहेर नै छ । यी सबै तथ्य र तथ्याकहरुको समस्टिगत रुप यतिबेला कथित राजाबादीहरुको ताण्डवनृत्यमा अभिव्यक्त भएको, राजाबादीहरुलाई उक्साउने र संरक्षण गरेका कथनहरु बाहिरिरहेका छन् ।
त्यसो त राजनैतिक नेतृत्वको चरित्र पनि स्वाभिमान जगाउने खालको छैन । अहिले झन् देशका प्रधानमन्त्रीको भारतले औपचारिक निम्तो नदिइएकोमा बेचैनी र छटपटी आठौं पटक सम्म पनि निम्तोको लागि गरिएको आग्रह र हारगुहारबाटै प्रस्ट देख्न सकिन्छ । नेपालको चुच्चे नक्सामा राजनीति गरेका अहिलेका प्रधानमन्त्रीले तत्कालीन माओबादीका शिक्षा मन्त्रीले क्षेत्रफल सहितको पाठ्यक्रम छपाई गर्दा जनक शिक्षा सामग्री केन्द्र बाट नै पुस्तक वितरणमा रोक लगाएको कुरा राजनीतिका नयाँ पुस्ता धेरैलाई थाहा नहुन सक्छ । वर्तमान प्रधानमन्त्रीको 'राष्ट्रवाद' इगो, सनक र व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।
पछिल्लो कथित राजीबाजीहरूको उदण्डतामा सरकारबाट देखाइएको रबैया र कमजोर हस्तक्षेपले माथिकै कुराको पुष्टि गर्दछ । संसदमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आफ्ना विरुद्ध आउन सक्ने विरोधको स्वरलाई मत्थर गर्ने जालसाजी कुरा बाहेक केही होइन ।
गणतन्त्रको आन्दोलनलाई खिसिट्युरी गर्ने तर गणतन्त्रको प्राप्ति पछि गणतान्त्रिक सरकारमा हालीमुहाली गर्ने ओली प्रवृतिबाट नया पुस्ताले के सिक्ने ? आत्मसमर्पण कि स्वाभिमान ? नयाँ पुस्ताले अब यो बारे बहस चलाउनै पर्दछ ।
राजनीतिमा नयाँ पुस्ताबारेको बहस धेरै पहिले देखि हुँदै आएको छ । तर यो बहसले सार्थकता प्राप्त गर्न सकिरहेको छैन । यो बहसमा पुराना पुस्ताका नेतृत्वमा दुई खाले दृष्टिकोण भेटिन्छ । एक थरीले वैचारिक, राजनैतिक र सांगठानिक रूपमा कुनैपनि तहमा सक्रिय रूपमा नरहेका तर पुरानै वंशको निरन्तरता चाहने र अर्को नयाँ पुस्तालाई पार्टीमा आउनै नदिने, आइहाले पनि जिम्मा नदिने मनोबृतिबाट ग्रसित प्रवृति देखिन्छ । नेपाली राजनीतिमा आफ्नै श्रद्धाञ्जलीको वक्तव्य न आउँदा सम्म पद नछाड्ने जस्तो परम्परा देखिन्छ । किनकी पद भनेको जति ठूलो पद उति ठूलो जिम्मेवारी हुनुपर्नेमा त्यसो नभई शक्तिको प्रयोग ,दुरुपयोग र हस्तक्षेपको शृंखला कायम राख्न गरिएको नाजायज अभ्यास जस्तो बन्न पुगेको छ।
अहिले “बा” खलकका छोराहरू 'नवयुवराज' बनेर तमाम काण्डहरू मच्चाउनेहरूबाट नेपाली राजनीतिले के सिक्ने ? युवा पुस्ताले के सिक्ने ? त्यसैले नयाँ पुस्ता भन्दैमा स्वतः अग्रगामी बिचार जन्मँदैन । सोच, बिचार र कार्यशैली अनि कार्यदक्षतामा नै नया चिन्तन जन्मनु पर्छ । उमेर ढल्दैमा बिचार ढल्ने होइन तर सांगठानिक क्रियाशिलता घट्ने र नया अन्वेषण भएका पछिल्ला सामाजिक आर्थिक र राजनैतिक परिस्थिति बारे बुझ्न गरिने अध्ययन कमजोर बन्दै जाँदा पार्टी निर्माणमा समस्या देखिन सक्छ ।
अर्को तिर आजको २१औं शताब्दीको विश्व राजनीति, मुलुकको भूराजनैतिक स्थिति, विश्व बजारीकरणको अवस्था, सूचना संचारमा भएको पछिल्लो क्रान्ति र विश्व अन्तर्विरोधको पहिचान गरि त्यही अनुरूपको कार्यदिशा कार्यशैली र जिम्मेवारी बोध गरेर मात्र राजनीतिको अग्रगामी कार्यदिशा निर्माण गर्न सकिन्छ ।
अझ माओबादीले त २०६१ मा रोल्पाको दुगला बैठक बाट २१औं शताब्दीको जनवाद नामको दस्तावेज नै पास गरी अगाडी बढ्ने संकल्प गरेको थियो। त्यसबारे केही प्रयासहरू पनि भए तर आलोपालो प्रणालीमा पार्टी र सरकारको मोर्चामा यसको प्रयोगमा कमी रहन गयो । फेरी नेतृत्व सजिलै निर्माण भैहाल्ने विषय पनि होइन ।
तर यसको नाममा नेतृत्वको विकास प्रणाली लाई विकास गरेर सबैले विश्वास र भरोसा गर्ने लायकको नेतृत्व तयार गर्न छाडेर प्रणाली नै जाम गर्ने परम्पराको भने अन्त्य हुनु पर्छ । त्यसैले विषयलाई जडतामा बुझ्ने र विषयान्तर गर्ने दुवै कुराले पार्टीमा नया पुस्ताको भर्ना अवरुद्ध भएको कुरा हामीले स्वीकार गर्ने पर्छ ।
अहिले युवा पुस्ता राजनीतिमा सक्रिय हुन् नखोजेको भने होइन । तर ऊ सहि राजनैतिक बाटोमा छैन । यसका पछाडी पनि पुराना भनिएका पार्टीहरूको सेवा प्रवाह र प्रणाली भद्दा हुनु हो । राजनीति प्रतिको घृणा, आक्रोश र विकल्प विहीन यात्राको सुरुवात पुराना पार्टीबाट भएको हो । अझ के पी ओलीको शासनका सबै भन्दा बढी दुर्गन्धित भैदिँदा अग्रगामी बिचार सहित गणतन्त्रको नेतृत्व गरेको माओबादीलाई पनि पुरानै पार्टी सरह ठान्दा युवा पुस्ता बिचार र उदेश्य विहीन अराजक यात्रामा सामेल भइरहेको छ ।
अहिलेको शासन इतिहासको सबै भन्दा नकारात्मक सुचीमा दर्ज भइरहेको छ । आर्थिक अनियमितता, भ्रष्टाचार त यो सरकारको वैधानिक हक जस्तै बनेको छ । नियम, नियमावली र संविधान संसोधन गरेर भए पनि आफ्नो अनुकूल राज्य संयन्त्र प्रयोग र परिचालन गरिरहेको देखिन्छ । त्यसैले यो सरकार कुशासनले जेलिएको बिचौलिया र दलाल हरुले बनाएको पनि चलाएको पनि भएकोले नया पुस्ता राजनीतिको विकल्पको खोजीमा रहेका छन् ।
अझ ओली जी को भारत समक्ष 'आत्मसमर्पण' गर्न परराष्ट्र मन्त्रि मार्फत पटक पटक गरिएको रोधन स्वाभिमानी जनताको लागि लज्जास्पद विषय बन्न पुगेको तथ्य युवा पुस्ताले बुझकै कुरा हो ।
ओली जी को राजनीतिले गणतन्त्र, समाजवाद र यो संविधानको धज्जी उडेको छ र शब्दहरू बदनाम हुन पुगेका छन्। समस्या अहिलेको राजनैतिक नेतृत्वमा हो, गणतान्त्रिक प्रणाली र व्यवस्थामा होइन । यसको संचालनमा रहेको समस्यालाई देखाएर प्रणाली माथि नै धावा बोल्नुमा बर्तमान प्रधानमन्त्रीको नकारात्मक योगदान रहँदै आएकोले पनि पुराना दलहरूमा युवा पुस्ता बिकर्षित भइरहेको छ ।
अब यो नयाँ पुस्तालाई राजनीतिको सहि बाटोमा सँगसँगै डोर्याउन केहि नयाँ संकल्प आवश्यक छ । पहिलो शर्त कुशासनको अन्त्य हो भने दोश्रो जनताको पक्षमा सहि र सहज ढंगले सेवा प्रबाह गर्न सक्नु हो । पार्टीको लोकतान्त्रिकरण, बिधि प्रक्रियामा समाजबादीकरण र जनताको जीवन स्तरमा सम्बृदी ल्याउने नीति तथा कार्यक्रम नै गणतन्त्रको सबलीकरणको पहिलो आधार बनाउन सक्नु पर्छ ।
गणतन्त्रको उपलब्धिमा टेकेर गणतन्त्रकै मानमर्दन गर्ने, बिधि प्रक्रिया भत्काउने, कानुन मिच्ने, असंबैधानिक कदम चालेर संसद नै विघटन गर्ने ओलीटिक्सनै गणतन्त्र भत्काउने हतियार बन्न खोजेको छ । यो अवस्थामा नया पुस्तालाई प्रतिगमनको यात्रामा जान बाट रोक्न सक्नु नै अहिले लाई अग्रगामी योजना हुन सक्छ । युवालाई नकारात्मकता बाट जोगाउने र गणतान्त्रिक विधि र प्रणाली बाट पार्टी संचालन गर्ने योजना बिना जनता र युवाको निराशा रोक्न सकिने छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस