Techie IT
२०८१ चैत्र १९, मंगलबार

नेपालमा टिकटकको प्रयोग र सामाजिक प्रभाव


नेपालमा सर्ट भिडिओ प्लेटफर्म टिकटकको प्रयोग अहिले एक लोकप्रिय सामाजिक गतिविधिको रूपमा फैलिएको छ । यसले केवल मनोरञ्जनको रूपमा मात्र काम गरेको छैन । बरु यसको विभिन्न पक्षहरूले नेपाली समाजको मनोविज्ञान र सामाजिक संरचनामा गहिरो प्रभाव पारेको छ । अहिले नेपाली युवाहरूदेखि लिएर बृद्धबृद्धा, व्यवसायी र शैक्षिक संस्थानहरू सबैजना यस प्लेटफर्ममा सक्रिय छन् । 

यो प्रवृत्ति केवल नयाँ सामाजिक हिट होइन, सामाजिक परिवर्तनको संकेत पनि हो । मानिसहरू आफ्नो व्यवसाय बढाउनदेखि लिएर सामाजिक सम्बन्धहरूलाई विस्तार गर्न, मनोरञ्जनका लागि र मनोबल बढाउनसम्म टिकटकमा सक्रिय छन् । पछिल्लो समय महिलाहरू, विशेष गरी युवतीहरू, आफ्नो शारीरिक बनावट र आकर्षणलाई प्रयोग गरेर टिकटकमा ध्यान आकर्षित गर्ने प्रयासमा सक्रिय छन् । 

उनीहरूको उद्देश्य प्रायः भ्युज र लाइक्स कमाउनको लागि असामान्य वा उत्तेजक सामग्री साझा गरेजस्तो देखिन्छ । यस्तो प्रयोगले केही हदसम्म टिकटकको आलोचना पनि निम्त्याएको छ । जसले युवाहरूलाई अस्वास्थ्यकर सौदर्य मापदण्ड र शारीरिक छवि निर्माण गर्न दबाब दिन सक्छ । तर, यो विशेष गरि त्यो वर्गको लागि हो । जसले प्लेटफर्मलाई मनोरञ्जन र व्यक्तिगत मान्यता प्राप्तिको लागि प्रयोग गर्छन् । त्यस्तै, एक अध्ययनका अनुसार अनुसार ५२ प्रतिशत महिलाहरूले सामाजिक मिडियामा शारीरिक रूप र सौदर्यका लागि बढी ध्यान दिने भएको बताएका छन् । यसले उनीहरूमा शारीरिक छविसम्बन्धी मानसिक समस्याहरूलाई बढावा दिएको छ ।

त्यसैगरी हामी देख्छौँ कि एउटा अर्को समूह– जुन प्रायः महिलाहरूको समूह हो । यस प्लेटफर्मको प्रयोग गरेर व्यक्तिगत वा सामाजिक पृष्ठभूमिमा अन्य व्यक्तिहरूबारे गालीगलौज र पछि कुरा गर्छन् । यो पक्षले टिकटकको नकरात्मक प्रभावलाई अगाडी लिएर आउँछन् । जहाँ उनीहरू खुलेआम नकरात्मक भावनाहरू र आरोपहरू व्यक्त गर्न सुरु गरेका छन् । उनीहरू खुला रूपमा आफ्नो शरीर देखाउँदै छन् र कुनै ट्रेन्डिङ गीतमा नाचिरहेका छन् ।

यो यस्तो लाग्छ कि उनीहरू पश्चिमी महिलाहरूसँग शरीर देखाउने र अन्य कुरा गर्न चुनौती दिइरहेका छन् । यसलाई कसैले स्वतन्त्रताको विकल्प भनेर सम्बोधन गर्छ, र यसमा धेरै दृष्टिकोणहरू छन् । यिनका कारण हो कि शायद उनीहरू ध्यान आकर्षित गर्न चाहन्छन् । 

कल्पना गर्नुकी कुनै पुरुष जो विदेशमा एकल हो वा विवाहित, जसलाई महिलासँग कुराकानी गर्ने र मिल्ने समय नै छैन । तर, उसले टिकटकमा महिलालाई सजिलै देख्नसक्छ र यसलाई मजा लिन सक्छ । उसले आफूले चाहेको अनुसार कमेन्ट गर्न सक्छ । यस्तो अवस्थामा यदि महिलाहरूको फोटो या भिडियो उनीहरूको विचारविना देखाइन्छ भने यो पुरुषको स्वतन्त्रता नहुने अवस्थालाई जनाउँछ । यसका अतिरिक्त, आजकल सोशल मिडिया प्लेटफर्महरूमा केही व्यक्तिहरू आफ्नो व्यक्तिगत जीवन वा शारीरिक भव्यता प्रदर्शन गरेर प्रकट गर्न चाहन्छन् । 

जबकि अरूका लागि यसले अव्यवस्थित र अस्वीकृत व्यवहार पनि उत्पन्न गर्न सक्छ । अर्को उदाहरण हो, केही व्यक्ति सोशल मिडियामा आफ्ना जीवनका सन्देश र अनुभवहरूको छायांकन गरेर समाजमा प्रभाव पार्ने काम गर्छन् । जबकि केही अन्यहरू केवल लोकप्रियता र ध्यानको लागि गर्छन् । 

एकल आमाहरूको विषय पनि निकै चर्चा भइरहेको छ । धेरै महिलाहरू जो एकल आमाहरू छन् । आफ्नो संघर्ष र चुनौतीलाई साझा गर्दै छन् । यो एउटा वास्तविक जीवनको संघर्ष हो । जुन उनीहरूले आफ्ना बच्चाहरूलाई हुर्काउने क्रममा भोगिरहेका छन् । यद्यपि त्यस्ता महिला समाजमा सम्मान र समर्थनको हकदार छन् । केही व्यक्ति भने उनीहरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्दै आलोचना गर्छन् । सामाजिक मिडियामा, एकल आमाहरूको जीवन र संघर्षलाई मनोरञ्जनको स्रोत बनाएर त्यस्ता महिलाहरूको सम्मान नगरी चर्चा गर्न थालेका छन् । 

यसकासाथै केही समय अगाडी केही व्यक्तिहरूले भाइरल टिकटकर एलिजे र आयुषको जीवनलाई आफ्नो चर्चा र मनोरञ्जनको भाग बनाइरहेका थिए । उनीहरूबीचको सम्बन्ध र घटनाहरूलाई अधिकांश मानिसहरूले इन्क्वाइरी गरेरै भविष्यवाणी गर्दै अझ त्यहाँ यस्ता व्यक्तिहरू छन् । जसले टिकटक लाइभको बेला कुनै पनि विचार राख्न थालेका छन् । जबकि उनीहरूले स्पष्ट रूपमा नजान्ने विषयमा कुरा गरिरहेका छन् । 

लाइभको समयमा हामी देख्न सक्छौं– मानिसहरू आफैंलाई विधि विशेषज्ञ वा न्यायाधीश सम्झेर अनौपचारिक र अव्यवस्थित रूपमा टिप्पणी गर्न थाल्छन् । उनीहरू लाइभमै जानी वा नजानी पक्ष र विपक्षमा धारणा राख्छन् । जसले भनेको कुरा अन्य व्यक्तिहरूको भावनामा चोट पुर्याउन सक्छ ।

यस्तो अवस्था धेरैजसो सामाजिक मिडियामा देखा पर्दछ । जहाँ मानिसहरू अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने र नकारात्मक टिप्पणी गर्ने एक अवसरका रूपमा प्रयोग गर्छन् । केही व्यक्तिहरू यसलाई मनोरञ्जनको रूपमा लिन्छन् । यसका माध्यमबाट थप हिट्स र ध्यान प्राप्त गर्न चाहन्छन् । उनीहरूको नजरमा यस्ता घटनाहरू कुनै फिल्मको एपिसोड जस्तो हुन् । जहाँ उनीहरू सस्तो नाटकको आनन्द लिइरहेका छन् । 

उदाहरणको लागि कुनै व्यक्तिले टिकटकमा लइभ चलाउँदा केही टिप्पणीकर्ताहरू त्यसलाई एक प्रकारको नाटकको रूपमा हेर्छन् । उनीहरूले आफ्नो अपेक्षाअनुसार घटनाहरूको भविष्यवाणी गर्न थाल्छन् । जुन एकदम अस्वाभाविक र अव्यवस्थित हुनसक्छ । साथै धेरैजसो मानिसहरूले आफ्ना मनका विचार बिना विचार गरेर टिप्पणी गर्दछन् । जसले अन्यको मानसिकतामा असर पुर्याउँछ ।

यसरी, केही व्यक्तिहरूको अभिप्राय मानिसको सम्मानमा कमी ल्याउन र नकारात्मकताको फैलावट हो । अर्को तिर अझ धेरै रचनात्मक र मनोरञ्जनात्मक पक्षको रूपमा, टिकटकमा ‘अल्गोरिदम’का आधारमा लोकप्रियता प्राप्त गर्ने खेल जस्तो ‘ए टू जेट’को प्रयोग पनि निकै रमाइलो र चाखलाग्दो बनाइन्छ । यो खेल प्रायः प्रयोगकर्ताहरूको बीचमा चिढ्याउन र चुनौतीहरूको रूपमा प्रस्तुत गरिन्छ । यस्ता खेलहरूले समाजका विभिन्न तहका मानिसलाई झन् उत्साहित बनाउँछन् । 

जबकि यसको उद्देश्य केवल चासो र हाँसो सिर्जना गर्नु हो । एक तरिकाले यस प्लेटफर्मले मानिसलाई मनोरञ्जन, अभिव्यक्ति, र सामाजिक सम्पर्कका लागि अवसर दिइरहेको छ । धेरै युवाहरूले यसलाई आत्मविश्वास बढाउनको लागि प्रयोग गर्छन् । यस प्लेटफर्ममा केही महिनामा लाखौं फलोअर्स पाउनु, चर्चित हुनु र लाखौं भ्युज पाउनु युवाहरूका लागि एक प्रकारको सामाजिक सफलता र मनोवैज्ञानिक पुरस्कार हो । 

यसले उनीहरूमा सेलिब्रिटी बन्ने चाहना र सामाजिक स्वीकृति प्राप्त गर्ने अभिप्रायलाई प्रबल बनाउँछ । तर, के हामीले कहिल्यै सोचेका छौं कि जब यस्ता युवाहरूलाई पर्याप्तलाइक्स र भ्युज प्राप्त हुँदैन भने उनीहरूको मानसिक अवस्था कस्तो हुन्छ ? धेरैजसो टिकटक प्रयोगकर्ताहरूको मानसिकता यो हुन्छ कि यदि उनीहरूको भिडियोले राम्रो प्रदर्शन गरेन भने, उनीहरूको जीवनमा के नै फरक पर्नेछ ? के उनीहरू आफ्नै अस्तित्वको मूल्य राख्न सक्नेछन् । 

यदि उनीहरूको सोशल मिडिया उपस्थितिमा उनीहरू अपेक्षाअनुसार सफल छैनन् भने ? यो प्रश्नको उत्तर खोज्न गाह्रो छैन । किनकि यो प्रश्नले आधुनिक डिजिटल समाजको आत्ममूल्य र सामाजिक प्रमाणको दबाबलाई उजागर गर्छ । शैक्षिक संस्थानहरू पनि अब टिकटकको माध्यमबाट विद्यार्थीहरूलाई आकर्षित गर्न र विभिन्न कार्यक्रमहरूको प्रचार–प्रसार गर्न प्रयोग गरिरहेका छन् । विद्यालयहरूको बिदाइ भिडियोहरू अहिले अत्यन्तै भाइरल हुने गरेका छन् । विद्यार्थीहरूको बिदाइको समय क्यामेरामा पर्नु र त्यो क्याप्चर भएको क्षणलाई टिकटकमा अपलोड गर्नु अहिले एक नयाँ परम्परा बनिसकेको छ । 

यसले विद्यालयका सामाजिक कार्यक्रमहरूको प्रचार र विद्यालयका प्रतिष्ठामा पनि बृद्धि गरेको छ । त्यस्तै विद्यालयका छात्रछात्राले आफ्ना क्रिएटिभिटीहरूलाई प्लेटफर्ममा प्रस्तुत गरेर आफ्नो व्यक्तित्वलाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्छन् । अर्को रोचक पक्ष भनेको टिकटकमा सक्रिय प्रयोगकर्ताहरूको मनोविज्ञानको विश्लेषण गर्दा देखिन्छ कि धेरैजसो टिकटक प्रयोगकर्ताहरू आफूलाई एक सेलिब्रिटीको रूपमा देख्न चाहन्छन् । 

पोस्ट गरेका भिडियोहरूको लाइक्स र भ्युजको आधारमा उनीहरूको मानसिकता र आत्ममूल्य मापन गर्न चाहन्छन् । यसको परिणाम स्वरूप, जब तिनीहरूको भिडिओलाई पर्याप्त लाइक्स वा भ्युज प्राप्त हुँदैन भने उनीहरूमा एक प्रकारको निराशा र अवमूल्यनको भावना उत्पन्न हुन सक्छ । यसले आत्मविश्वासमा कमी ल्याउन सक्छ र प्रयोगकर्ताहरूको मानसिक स्वास्थ्यमा असर पुर्याउन सक्छ । 

एक अध्ययनले देखाएको छ कि टिकटक जस्ता प्लेटफर्ममा अत्यधिक सक्रियता राख्ने प्रयोगकर्ताहरूमा अवसाद र आत्ममूल्यमा गिरावटको समस्या बढिरहेको छ । २०२२ को एक रिपोर्ट अनुसार, ५० प्रतिशतभन्दा बढी व्यवसायहरूले आफ्नो उत्पादनको प्रचारको लागि टिकटकको प्रयोग गरे र यसबाट ३० प्रतिशत बढी बिक्रीको वृद्धिको अनुभव गरे । अचार, गहना, कपडा, र अन्य परम्परागत व्यवसायहरूले आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्न टिकटकको प्रयोग गरेका छन् । 

यसमा ४२ प्रतिशत व्यवसायहरूले आफ्नो ब्रान्डको प्रचार बढाउन टिकटक प्रयोग गरेका छन्, जसले उनीहरूलाई डिजिटल बजारमा उचाइमा पुर्याएको छ । यस प्लेटफर्मको व्यापारिक प्रयोग पनि निरन्तर बृद्धि भइरहेको छ।  नेपालमा अचार र गहना व्यवसाय जस्ता परम्परागत व्यवसायहरू अहिले टिकटकको माध्यमबाट नयाँ उचाइमा पुगेका छन् । यी व्यवसायहरूले न केवल आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्दैछन् । तर मार्केटिङमा पनि नयाँ रणनीतिहरू अपनाउँदैछन् । विशेष गरी गहना व्यवसायको क्षेत्रमा, प्रसिद्ध टिकटक क्रिएटरहरू र इन्फ्लुएन्सरहरूले आफ्नो भिडिओहरूको माध्यमबाट गहना र स्टाइललाई प्रमोट गर्ने काम गरेका छन् । यसबाट छोटो समयमा ठूलो व्यापारिक सफलता प्राप्त भएको छ ।

हालका केही प्रसिद्ध व्यक्तिहरू :

विनिता राई मगर एक प्रसिद्ध टिकटक स्टार हुन् । जसका ज्ञठज्ञ।ज्ञप फलोअर्स र ज्ञठ।घ मिलियन लाइक्स छन् । मानिसहरू उनको सरलता र माया गर्न लाज नलाग्ने शैलीलाई धेरै मन पराउँछन् । विशेषगरी उनी खाने कुराको अघि खाए ल शब्द प्रयोग गर्छिन् । जुन अहिले सम्पूर्ण नेपालमा निकै प्रसिद्ध भएको छ । यो शब्द धेरै मानिसहरूका थेगो बनिसकेको छ । धेरै ब्राण्डहरू अहिले उनलाई प्रमोट गर्दै छन् । उनका भिडियोहरूको भ्यूज लाखौंको संख्यामा पुग्छन् । अर्की विनिता बालिका हुन् । जसलाई हामी प्रविना राईको टिकटकमा देख्न सक्छौँ । उनले सँगै मिलेर बहिनीहरूको हेरचाह गर्दैछन् । 

नेपालमा टिकटकको प्रयोगले राजनीतिक, सामाजिक, आर्थिक र कानूनी दृष्टिकोणबाट विभिन्न प्रभावहरू पुर्याएको छ । जसले देशका युवाहरू र समग्र समाजलाई ठूलो प्रभाव पारेको छ । राजनीतिक दृष्टिकोणबाट, टिकटकजस्तो सामाजिक मिडियाको अत्यधिक प्रयोगले नागरिक सञ्जाल र सशक्त राजनीतिक विचारहरूको विकासमा महत्त्वपूर्ण भूमिका निभाउन सक्छ। यसको माध्यमबाट व्यक्तिहरू आफूले चाहेको विचार साझा गर्न र सरकारसँग प्रत्यक्ष संवाद गर्न सक्षम छन् । यद्यपि गलत सूचना र प्रचारको सम्भावना पनि बढेको छ । जसले लोकतन्त्रमा नकरात्मक असर पार्न सक्छ । 

त्यसैले सरकार र नियामक संस्थाहरूले यसको सही प्रयोगका लागि मार्गनिर्देशन र निगरानी गर्न आवश्यक छ । सामाजिक दृष्टिकोणमा, टिकटकले नेपाली समाजमा सांस्कृतिक परिवर्तन ल्याएको छ । युवाहरूको अभिव्यक्तिको एक प्रमुख माध्यम बनेको यो प्लेटफर्मले सकारात्मक र नकरात्मक दुवै प्रभावहरू देखाएको छ । 

शारीरिक छवि र सौंदर्यका मापदण्डहरूको पुनःनिर्माणसँगै, मानसिक स्वास्थ्य समस्याहरूको जोखिम पनि बढेको छ । यसले नेपाली समाजमा नयाँ प्रवृत्तिहरूको जन्म दिएको छ । जसले सामाजिक अन्तरक्रिया र विचारहरूको आदान–प्रदानलाई बढाएको छ । आर्थिक दृष्टिकोणबाट टिकटकले व्यवसायको क्षेत्रलाई नयाँ अवसरहरू प्रदान गरेको छ । 

व्यापार र प्रवद्र्धनका लागि यसको प्रयोगले नेपालका परम्परागत र डिजिटल व्यवसायलाई नयाँ ग्राहकहरूको पहुँचमा पुर्याएको छ। अचार, गहना, र हस्तकला जस्ता स्थानीय व्यवसायहरूले टिकटकको माध्यमबाट प्रगति गरेका छन्। यद्यपि, यसको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्य र समाजिक असहमति पनि निम्त्याउन सक्छ, जसले दीर्घकालीन रूपमा आर्थिक समृद्धिमा असर गर्न सक्छ । कानूनी दृष्टिकोणबाट, टिकटकको बढ्दो प्रभावले कानूनी चुनौतीहरू पनि ल्याएको छ । 

गोपनीयता र सुरक्षासम्बन्धी मुद्दाहरू जस्तै व्यक्तिगत डाटा र यसको दुरुपयोगका मामिलामा सावधानी अपनाउनु आवश्यक छ । साथै गलत सूचना र गालीगलौजको मुद्दामा दु्रत समाधानका लागि उपयुक्त कानूनी प्रावधानहरूको आवश्यकता छ । यदि यसलाई सही तरिकामा नियमन नगरिएमा यसले सामाजिक असहमति र कानूनी संघर्षको स्थितिमा परिणत हुनसक्छ । 

समग्रमा टिकटकको प्रयोग नेपालमा एउटा परिघटना बनेको छ । जसको बहुआयामिक प्रभाव परेको छ । यसको सकारात्मक र नकरात्मक दुवै पक्षलाई सचेत र सन्तुलित दृष्टिकोणबाट हेर्नु अत्यन्त आवश्यक छ । राजनीतिक, सामाजिक, आर्थिक र कानूनी दृष्टिकोणबाट यसका प्रभावहरूलाई व्यवस्थित गर्न र त्यसबाट उठ्ने अवसर र चुनौतीहरूको समाधान खोज्न अनिवार्य छ । यसले हाम्रो समाज र अर्थव्यवस्थामा दीर्घकालीन सुधार ल्याउन सक्ने क्षमता राख्दछ । यदि त्यसको सही प्रयोग र निगरानी गरियो भने ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट