Techie IT

प्रजातन्त्रका लागि लड्ने दक्षिण एशियाकी पहिलो महिला नेता द्वारिकादेवी ठकुरानी


द्वारिकादेवी ठकुरानी

विसं २०१६ जेठ १६ गते बुधबारको तत्कालीन गोरखापत्र दैनिकले आफ्नो पहिलो पृष्ठमा शीर्षकमा समाचार छाप्यो । त्यसको मुख्य शीर्षक थियो ‘नेपालको पहिलो निर्वाचित मन्त्रिमण्डल सङ्गठित ।’ अनि त्यसमा उपशीर्षकहरू राखिएको थियो– प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला, उप–प्रधानमन्त्री श्री सुवर्णशमशेर र उप–मन्त्री पदमा महिला पनि ।’     
    
त्यो उपशीर्षकमा ‘महिला पनि’ भनिएकी व्यक्ति द्वारिकादेवी ठकुरानी थिइन् । पहिलो जननिर्वाचित मन्त्रिमण्डलको नेतृत्व जननायक बिपी कोइरालाले गरेका थिए । त्यो मन्त्रिमण्डलमा बिपीले द्वारिकादेवी ठकुरानीलाई तत्कालीन ‘स्वास्थ्य र स्वायत्त’ मन्त्रालयको जिम्मेवारी दिएर उपमन्त्री बनाएका थिए ।     
    
त्यतिबेलाको समय नै त्यस्तै थियो, विश्वका कतिपय राष्ट्रहरूमा पनि महिलालाई मतदानको अधिकारसमेत थिएन । नेपाली समाजमा पनि महिलालाई पढ्न लेख्नसमेत बन्देज गरिएको समयमा एउटा बिकट ठाउँकी महिलालाई त्यो बेला बिपीले मन्त्रीसम्म बनाए । 

नेपाल मात्रै नभएर द्वारिकादेवी ठकुरानी सरकारमा पुग्ने दक्षिण एशियाकै पहिलो महिला थिइन् । देशमा प्रजातन्त्र स्थापनार्थ आफ्ना सबै निजी स्वार्थहरू त्यागेर द्वारिकादेवीहरू त्यो बेला क्रान्तिमा होमिनुभयो । त्यो पनि शिक्षा र चेतनाले पछि परेको नेपालको सुदूर पहाडको एउटा गाउँबाट ।     
    
ठकुरानी डोटीको एउटा सम्पन्न ठकुरी कुलमा जन्मिएकि थिइन् । त्यो बेला धनीमानीहरू घरमै गुरुहरू राखेर आफ्ना छोराछोरी पढाउने गर्थे । राणा शासनकालका बेला नेपालमा विद्यालयहरू खोल्ने र आमसर्वसाधारण नागरिकका छोराछारीले पढ्न लेख्न पाउने अधिकार थिएन । तथापि ब्राह्मण वा त्यस्तै उच्च कुल तथा हुने खानेहरूले घरमै गुरुहरू राख्थे । वा त्यस्तै सामाजिक रुपमा चलेका गुरुकुलहरूमा आफ्ना छोराछोरी पढाउँथे । 

त्यो बेलासम्म पनि नेपालमा छोरीहरूलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन । तर द्वारिकादेवीका मातापिताहरूले भने घरमै संस्कृतका विद्वानहरू राखेर आफ्ना छोराछोरी पढाउने काम गरेका थिए । त्यहीबेला द्वारिकादेवीले पनि गीता र महाभारतलगायतका ग्रन्थहरू पढिन् । 

आठ वर्षको उमेरमै उनले गीता र महाभारतका पाठहरू कन्ठस्थ पारेकि थिइन् । घरपरिवार नै शिक्षित र सम्पन्न भएका कारण द्वारिकादेवीको कलिलो मस्तिस्कमै राजनीति र चेतनायुक्त संस्कार हुर्किसकेको थियो । 

त्यसपछि किशोरावस्थामा उनको साथसङ्गत पनि त्यस्तै हुनपुग्यो । राजनीतिक परिवारमै उनको विवाह भयो । त्यसले पनि उनलाई प्रजातन्त्रको लडाईंका लागि प्रेरित गरेको थियो ।     
    
द्वारिकादेवीका बुवा खरिदार थिए । परिवार शिक्षा र चेतनाले सुसंस्कृत थियो । सुदुरपश्चिमा दलित तथा पिछडिएका समुदायलाई शिक्षा र राजनीतिक चेतना बढाउने काममा उल्लेख्य काम गरेको देखिन्छ । 

डोटी सुदूरपश्चिमको शिक्षा र राजनीति तथा प्रशासनिक केन्द्र पनि थियो । त्यहाँ विभिन्न क्षेत्रका मान्छेहरू आउजाउ गरिरहन्थे । त्यही क्रममा उद्धबबहादुर चन्द र द्वारिकादेवीबीच प्रेम सम्बन्ध भयो र त्यो विवाहमा परिणत भयो ।     
    
२००४ सालमै द्वारिकादेवीको नेतृत्वमा डडेल्धुरामा हाइस्कुल स्थापना भएको थियो । त्यो बेला राणा शासनविरुद्ध विद्रोह चेतना बढिरहेको थियो र मानिसमा राजनीतिक चेतना बढ्न थालेको थियो । मुजफ्फरपुरमा बिपीसँग भेट भएपछि २००३ सालमै श्रीमान श्रीमति दुबैले कांग्रेसको सदस्यता लिएको देखिन्छ । 

यसरी श्रीमान र श्रीमति सँगै प्रजातान्त्रिक आन्दोलनबाट पार्टी राजनीतिमा जोडिए । २००७ सालमा द्वारिकादेवीका श्रीमान उद्धबबहादुर चन्द जेल परे र ३२ दिनमा छुटे । २०१० सालमा द्वारिकादेवीका श्रीमानको निधन भयो ।     
    
आफैँमा त्यसरी पिछडिएको युगमा जन्मिएकी द्वारिकादेवी मात्रै समाजसेवा र राजनीति मात्रै गर्नुभएन, देशमा प्रजातन्त्र स्थापनाका लागि उनले अरू क्रान्तिकारी योद्धाजस्तै बन्कुद नै बोकेर लडाईंमा होमिनुभएको थियो । 

बिपी कोइरालाको एक आह्वानमा उनले आफ्ना परिवारले राखेका बन्दुकहरू क्रान्तिकारी लडाकुहरूलाई दिइन् । त्यतिमात्रै होइन, उनले भारतमा निर्वासित रहँदा पनि नेपालका ‘मुक्ति सेना’लाई हतियार व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलिन् । 

नेपाली कांग्रेसले राणा र राजसँग लड्दा दुईपटक सशस्त्र क्रान्ति गरेको थियो । त्यो बेला २००९ सालमा नेपाल मुक्ति सेनाका लागि आफ्ना देवर केशबहादुर चन्दबाट बारबोर बन्दुक पनि द्वारिकाले मुक्ति सेनालाई दिएर सहयोग गरेको देखिन्छ ।     
    
२००७ सालमा प्रजातन्त्र आए पनि नेपालमा राणा र कांग्रेस मिलेर बनेको अन्तरिम सरकारमात्रै थियो । त्यसैले नेपाली कांग्रेसले आमचुनावको माग गरिरहेको थियो । तर दरबारले चुनाव गराउन चाहेको थिएन । त्यसपछि २०१४ सालतिर नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन गरेको थियो । 

त्यसपछि बाध्य भएर राजाले आम चुनावको घोषणा गरे । २०१५ सालमा नेपालमा पहिलोपटक आम चुनाव भयो र त्यसमा नेपाली कांग्रेसले देशभरिका धेरै सिटमा चुनाव जित्यो । चुनाव जित्नेहरूमध्ये द्वारिकादेवी पनि एक थिइन् । विभिन्न राजनीतिक दलहरूले भाग लिएको त्यो निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई निकै लोकप्रिय मत दिएका थिए ।

बिपीका समकालीन नेता एनडी अर्थात् नारायणप्रसाद चटौतको २०१४ सालमा निधन भयो । सिमराबाट काठमाडौंँ आउने जहाज दुर्घटना भएर उहाँको निधन भएको थियो । उहाँकै स्थानमा २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले ६६ नम्बर निर्वाचन क्षेत्र डडेल्धुराबाट द्वारिकादेवीलाई उम्मेदवार बनायो । 

यो चुनावमा दरबारियाहरूले बुथ कब्जा गरेपछि दोस्रो चरणमा मतदान भएको थियो । यो मतदानमा संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेर द्वारिकादेवी बिजयी भएकि थिइन् । त्यो चुनाव देशभरका कूल एक सय नौ सिटमा भएको थियो । 

तीमध्ये नेपाली कांग्रेस ७४ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएको थियो । त्यसबेला दरबार समर्थित राष्ट्रिय गोरखा परिषदको १९, संयुक्त प्रजातन्त्र पार्टीको पाँच, नेपाल कम्युनिष्ट पार्टीको चार, आचार्य समूहको प्रजा परिषद्को दुई र अर्को मिश्र समूहको प्रजा परिषद्ले एक सिटमा जित भएको थियो । त्यो चुनावमा देशभरिबाट चार जना स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । देशैभरि चुनावमा उम्मेदवार भएका सात जना महिलामध्ये द्वारिकादेवीले मात्रै फराकिलो मतान्तरले चुनाव जितेकि थिइन् ।

नेपाली कांग्रेसको त्यो लोकप्रियता र स्पष्ट दुई तिहाइ बहुमत आएको देखेपछि दरबार आफैँ तर्सिरहेको थियो । त्यसैले फेरि राजा महेन्द्रले सरकार गठनको आह्वान नै गरेनन् । कांग्रेसको दबाबपछि राजाले सरकार गठनको आह्वान गरेका थिए । 

त्यसअघि नै द्वारिकादेवीको अध्यक्षतामा ललिता निवासमा बसेको बैठकले बिपी कोइरालालाई नेपाली कांग्रेसको संसदीय दलको नेता र सुवर्णशमशेरलाई उपनेतामा चयन गरेको थियो । त्यसपछि कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर त्यसलाई पनि दरबारले धेरै टिक्न दिएन । 

समाजवादको लक्ष्य प्राप्तिमा बिपीको दूरदृष्टिबाट अत्तालिएको दरबारले जननिर्वाचित सरकारलाई दुई वर्ष नपुग्दै बिघटन गरेर जननिर्वाचित प्रधानमन्त्री बिपीलगायत धेरै प्रजातान्त्रिक नेताहरूलाई जेल हाल्न थाले । २०१७ पुस १ गते राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर आफैले राजकाज चलाउन थाले ।

राजाको प्रत्यक्ष राजकाज अर्थात् पञ्चायती शासन चल्न थालेपछि नेपालका राजनीतिक कर्मीहरू फेरि भारत निर्वासनमा जान थाले । कतिपयलाई राजाले जेल हालिसकेका थिए । त्यही क्रममा दरबारले द्वारिकादेवीलाई पनि पञ्चायतको समर्थन गर्न लोभलालच देखाउन थाले । 

द्वारिकादेवीका नजिकका मानिसहरूका अनुसार त्यो बेला राजाले द्वारिकादेवी लाई तिमी ठकुरीकी चेली पनि हो । उपप्रधानमन्त्री दिन्छु दरबारको पक्षमा लाग्नु भनेर भने तर उनले मानिनन् र बरु भारत निर्वासन नै रोजिन् । 

कलकत्तामा प्रवासमा हुँदा नै उनलाई जयप्रकाश नारायणनले द्वारिकादेवीलाई प्रजातन्त्रप्रतिको इमान्दार नारी भनेर सममान गरेका थिए । यसबाट द्वारिकादेवी नेपाली राजनीति मात्रै होइन, विश्वस्तरीय राजनीतिक मञ्चमा पनि उत्तिकै चर्चित र सम्मानित व्यक्तित्व थिइन् भन्ने प्रष्ट हुन्छ ।     
    
त्योसँगै नेपाली कांग्रेसले फेरि पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्यो । त्यो आन्दोलन सशस्त्र क्रान्तिमै परिणत हुन पुग्यो । कांग्रेसका नेताहरूले पञ्चायतविरुद्ध विभिन्न क्रान्तिका कार्यक्रम घोषणा गरे । त्यसैअनुसार ठाउँ अनि क्षेत्र तोकेर नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी तोकियो । 

कांग्रेसले आफ्ना निर्वाचित सांसदहरूलाई पनि विभिन्न जिम्मेवारी दिएको थियो । सोहीअनुसार २०१९ सालमा निर्वासनमा रहेका नेपाली कांग्रेसका सबै सांसदहरूलाई आआफ्नो निर्वाचन क्षेत्रको पारितिर पर्ने भारतीय भूमिमै रहेर नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्न भनिएको थियो । 

पार्टीले सिमानामा बसेर क्रान्ति गर्नका लागि कार्यकर्ताहरूलाई हातहतियारसमेत दिएको थियो । पार्टीको निर्णयअनुसार द्वारिकादेवीहरूलाई पनि थ्रीनट थ्री राइफलसमेत अरु चारवटा हतियार पनि दिइएको थियो ।

यसरी द्वारिकादेवी समकालीन नेपाली राजनीतिको एउटा सशक्त नारी हस्ताक्षरमात्रै होइन, राजनीतिमा समावेशिताको सिद्धान्तलाई व्यावहारिक रुपमा शुरुआत गरिएको एक बलियो उदाहरण पनि हुन् । 

आज नेपालको राजनीतिक वा हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको प्रारम्भिक चेतना र आधारस्तम्भ द्वारिकादेवीहरू नै हुन् । जीवनको उद्धाराद्र्धमा पारिवारिक एकलपन र पार्टीभित्रको कोपभाजनमा परेर द्वारिकादेवी विरक्त भइन् र त्यस्तैमा देहत्याग गरिन । 

द्वारिकादेवीको जन्मजयन्तीको अवसरमा उहाँ र समकालीन क्रान्तियोद्धाहरूलाई हार्दिक श्रद्धासुमन ।

 

 (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)     
 #द्वारिकादेवी_ठकुरानी



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट