बालबालिकाको निःशुल्क आँखा परीक्षण आयोजना गरिनेछ
नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसको अवसरमा आगामी बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने घोषणा गरेको छ।

नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसको अवसरमा आगामी बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने घोषणा गरेको छ।
सङ्घअन्तर्गत देशभर रहेका आँखा अस्पताल र उपचार केन्द्रमा विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण आयोजना गरिनेछ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यस वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी)ले बाल आँखाको स्वास्थ्यलाई प्राथमिकता दिनुका कारण नेपाल नेत्रज्योति सङ्घले पनि यो कार्यक्रम गर्न लागेको हो।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घले देशभर सञ्चालन गर्ने २८ वटा आँखा अस्पताल र १६० आँखा उपचार केन्द्रहरूबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ।
नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ, जसमा लगभग ७ लाख बालबालिकाले उपचारबाट वञ्चित छन्। दृष्टिदोष भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मको वृद्धि हुने अध्ययनले देखाएको छ।
आईएपीबीका अनुसार, विश्वमा करिब ४ करोड ५० लाख बालबालिकालाई दृष्टि सम्बन्धी उपचार आवश्यक छ।
विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन न्यूनीकरणमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता सङ्गठन आईएपीबीले विश्वमा अन्धोपनको कारण र न्यूनीकरणका उपायहरूबारे सचेतना अभिवृद्धि गर्नको लागि विश्व दृष्टि दिवस मनाउन सुरु गरेको हो। यस वर्षको नारासहित, ‘बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने सन्देशका साथ अक्टोबर १० (असोज २४ गते) बिहीबार नेपालमा विभिन्न कार्यक्रम गरिनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस