बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोमा गन्तव्यतर्फ पठाइँदै
यही असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढीपहिरोले अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुल्ला भएको छ।

यही असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढीपहिरोले अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुल्ला भएको छ। बाटो खुल्ला भएसँगै यातायात पनि सञ्चालनमा आएको छ।
यात्रुवाहक बसलाई पनि आजबाट सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुलसम्मको सडक पनि सञ्चालनमा आएको छ। हालको लागि स्थानीय प्रशासनले त्यहाँ हलुका सवारी साधन मात्रै सञ्चालनको अनुमति दिएको छ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्गमार्फत गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए।
बीपी राजमार्गमा फसेका १३ वटा सवारी साधन वैकल्पिक बाटोमा काठमाडौं पुगेका छन्, र डम्फुपार्क तथा मङ्गलटारमा अलपत्र ५०० भन्दा बढी सवारी साधनलाई पनि आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस