Techie IT
२०८२ वैशाख ७, आइतबार

बिपी राजमार्ग र भित्री सडकको अवरुद्ध सँगै जनजीवन प्रभावित

नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण आएको बाढीपहिरोले बाटो भाँचिदिएपछि पसलका सबै सामान रित्तिएका छन्।


नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण आएको बाढीपहिरोले बाटो भाँचिदिएपछि पसलका सबै सामान रित्तिएका छन्। दसैँ पर्वको समय नजिकिँदै गर्दा घरमा खाद्यान्नको कमी भैरहेकोले नागरिकहरूको लागि तत्काल बाटो खुला गर्न आवश्यक भएको उनले बताए।

रोशी गाउँपालिका–७ थान्सिङबेँसीकी शिक्षिका अनिता गौतमले वर्तमानमा बाटो, खाद्यान्न र सञ्चारको समस्या भएकाले राज्यले त्यसमा प्राथमिकता दिनुपर्ने बताए। बाटो अवरुद्ध हुँदा नागरिकहरूले खाद्यान्न र राहतको अभाव भोग्नुपरेको उल्लेख गरिन्।

रोशी गाउँपालिका–७ का लोकनाथ गौतमले बाढीपहिरोको क्षतिको मुख्य कारण खानी र क्रसरलाई ठहर गर्दै राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने सुझाव दिए।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले गाउँ, सडक, पुल र विद्युत् पोल ढालिदिएपछि यातायात, विद्युत् र सञ्चार सेवा प्रभावित भएको छ। यस कारण धेरै मानिसले ज्यान गुमाएका छन् र घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ। सडकमा यात्रा गरिरहेका यात्रु बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न संघर्षरत छन्।

बाढीपहिरोले यहाँका नागरिकहरूको जीवन कष्टकर बनाइरहेको छ, विशेषगरी रोशीखोला आसपासका बासिन्दाहरू। यहाँका पसलहरूमा चाउचाउ र बिस्कुट पनि किन्ने अवस्थामा छैनन्।

पसलका मालिकले नयाँ सामानको ढुवानी गर्न पनि सक्ने अवस्था छैन। रोशीमा आएको बाढीपहिरोले बिपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि दैनिक हजारौं सवारीसाधन ठप्प छन्। राजमार्गका दर्जनौं ठाउँमा बाढीले कटान गरिदिएको छ र धेरै ठाउँमा पुरिएको अवस्थामा रहेको छ।

बिपी राजमार्ग अहिले सुनसान छ र यसको वरपरका बस्तीहरूमा पनि सुनसान छाएको छ। बाढीपहिरोले सडक, विद्युत् पोल र खानेपानीको पाइपजस्ता भौतिक संरचनाहरू ध्वस्त बनाइदिएपछि नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य सेवामा समस्या परेको छ। बाढीले रोशीखोला आसपासका सयौं रोपनी खेतीयोग्य जमिन र लगाइएका बाली पनि बगाएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चारको सम्पर्क टुटेपछि समुदाय र पालिकाबीचको सम्बन्ध नै बिग्रिएको बताउँदै भने, "यो अवस्थाको बीचमा पनि हामी खोज तथा उद्धारमा प्राथमिकता दिइरहेका छौं र अवरुद्ध बाटो खुलाउने कार्यमा जुटेका छौं।"

दसैँ अगाडि पूर्व जाने छोटो दूरीको राजमार्गलाई खोल्न वैकल्पिक मार्ग निर्माणको काम पनि गरिरहेका छन्। एकातिर नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र समयमै उपचार नपाइरहेका नागरिकहरू आक्रान्त बनेका छन्।

सडक डिभिजन कार्यालय भक्तपुरका चन्द्रबहादुर लामाले सडक खुलाउने कार्यमा निरन्तर व्यस्त रहेको र अस्थायी वैकल्पिक मार्ग बनाउनका लागि स्काभेटर र अन्य उपकरण प्रयोग भइरहेको जानकारी दिए।

बीपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका–१२को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गर्दै काम भइरहेको छ। पछिल्लो तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ।

सडक, विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्रहरूमा मर्मत कार्य गरिरहेका छन्। महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाले क्षति पुगेका सडकखण्डमा मर्मत गर्दै सवारी साधन सञ्चालनका लागि काम गरिरहेका छन्।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बीपी राजमार्गलाई जोड्ने प्रयास जारी रहेको बताए। खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढुंगाबाट जिल्ला सदरमुकामसम्मको सडकखण्ड खोल्ने प्रयास गरिरहेको अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको उद्धार कार्य जारी रहेको बताए। उनले सर्वदलीय बैठक र सहयोगी निकायसँगको समन्वयमा विभिन्न १० वटा क्लस्टर निर्माण गरि आवश्यक निर्देशन दिइसकेको उल्लेख गरे।

जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका अतिप्रभावित क्षेत्र भएको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ।

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट