विकृति विरुद्ध गाईजात्रा मनाइँदै
परम्परागत तथा सांस्कृतिक गाईजात्रा पर्व, आजदेखि देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी आरम्भ हुँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराइन्छ र श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गरिन्छ। धार्मिक विश्वास अनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने कथन छ ।
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिए अनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
गाईजात्रा, प्रताप मल्लको पालादेखि प्रचलनमा आएको, हनुमान ढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा कायमै छदेशभरिभर मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिन्छ। भाद्र कृष्ण अष्टमीसम्म मनाइने यस पर्वमा प्रहसन, सामाजिक विकृति प्रति व्यङ्ग्य, नाचगान, र मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू गाइने चलन छ ।
विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा प्रतिबन्ध लागेको थियो। विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । हास्यव्यङ्ग्यले जथाभावी गर्नेलाई सचेत गराउँछ र अनर्थकतामा सार्थकता झल्काउँछ। पाटनमा सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस