Techie IT
२०८२ वैशाख ६, शनिबार

प्रधानमन्त्रीको कार्यशैलीप्रति मन्त्री र नेताहरू असन्तुष्ट, सरकारको काँध फेर्न देउवामाथि दबाब


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एकात्मक कार्यशैलीलाई लिएर कांग्रेस मन्त्री र नेताहरूले असन्तुष्टि जनाएका छन् । 

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको खुलेर विरोध गरेका छन् । प्रधानमन्त्रीका पछिल्ला गतिविधि, विवादास्पद नियुक्ति र कुनै पनि मन्त्रीसँग सल्लाह नै नगरी गर्ने निर्णप्रति कांग्रेस रुष्ट देखिन्छ । 

कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनको जनस्तरमा चर्को आलोचना र विरोध भइरहेको छ । शिक्षकहरू सडक आन्दोलनमा छन् । 

देशैभरका सहकारी तथा मिटरव्याजपीडित काठमाडौंमा केन्द्रित छन् । उनीहरूले माइतीघर लगायतका विभिन्न स्थानमा धर्ना दिइरहेका छन् । 

यस्तोबेला ओलीले कांग्रेसका कुनै पनि मन्त्रीसँग सल्लाह नै नगरी मनमौजी निर्णय गर्ने गरेका छन् । जस्तो यसअघि विवादास्पद भूमिसम्बन्धी अध्यादेश ल्याउँदा पनि उनले कसैसँग सल्लाह नै नगरेको कांग्रेसका एक मन्त्री बताउँछन् । 

त्यस्तै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा पनि उनले कसैसँग सल्लाह नगरेको उनको भनाइ छ । कुलमानको कार्यकाल सकिन दुई/महिना बाँकी रहँदै बर्खास्त गरेपछि जनतामा चरम असन्तुष्टि र निराशा छाएको छ । यो ओलीको कमजोरी भएको ती मन्त्री बताउँछन् । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले एकाएक राजीनामा दिनु पनि प्रधानमन्त्रीकै असहयोग भएको कांग्रेसका मन्त्रीहरू बताउँछन् । प्रधानमन्त्रीज्यूले आफ्नो कार्यकर्ता भर्ती गर्न बराललाई असहयोग गरेको मन्त्रीहरूको आरोप छ । 

कांग्रेसका एक मन्त्री भन्छन्, ‘प्रधानमन्त्री कुनै पनि निर्णय गर्दा आफूले चाहेको विषय मन्त्रिपरिषद्बाट निर्णय गरेर हुन्छ वा आफूनिकटका मन्त्रीहरू भेला पारेर हुन्छ, एउटा निर्णयमा पुग्नुहुन्छ । हामी चहान्छौँ कि सबै मन्त्रीसँग सल्लाह होस् र सोही बमोजिम निर्णय गरौँ । तर, उहाँको त्यस्तो स्वभाव रहेन्छ । उहाँको यो कार्यशैलीप्रति हामी सन्तुष्ट छैनौँ ।’

यस्तो असहज परिस्थितिमा कि प्रधानमन्त्रीले कमजोरी सच्याएर अगाडि बढ्नुपर्यो, होइन भने सरकारको काँध फेर्नुको विकल्प नभएको कांग्रेसका एक नेताले बताए । 

उनले भने, ‘दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा हामीले हाम्रो सभापति (शेरबहादुर देउवा)लाई ओलीसँग यसरी काम गर्न नसकिने बताएका थियौँ । उहाँहरूबीच यसबारे सामान्य छलफल भएको रहेछ ।’ 

उहाँले हामीलाई बूढानीलकण्ठमा सुनाउनुभयो । कांग्रेस सभापति देउवाको भनाइ उद्धृत गर्दै ती नेताले रैबारप्रेसलाई भने । 

बुधबार बालुवाटारमा दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकमा भएको छलफलबारे देउवाले आज (बिहीबार) आफ्नै निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारी र मन्त्रीहरूलाई बोलाएर सुनाएका थिए । 

बूढानीलकण्ठमा केही बेरअघि बसेको बैठकमा मन्त्री र नेताहरूले ओलीसँग काम गर्न असहज भएको बताएका थिए । यसबारेमा आफूले हिजोको बैठकमा सबै कुरा राखेको देउवाले सुनाएका थिए ।

बैठकमा कांग्रेसका अधिकांश मन्त्री र नेताहरूले सरकारको काँध फेर्नुपर्ने भन्दै दबाब दिएको स्रोत बताउँछ । तर, यसबारे देउवाले कसैलाई केही जवाफ नदिएको स्रोतले बतायो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट