Techie IT
२०८२ वैशाख ६, शनिबार

एमालेसँग भागबण्डा नमिलेपछि देउवाले विरोधमा उतारे गगन–विश्वप्रकाश, संयन्त्रको बैठकमा कोकोहोलो हुने संकेत


काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस र साझेदार एमाले सम्मिलित दुई दलीय उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना भइरहेको बेला बैठक बस्न लागेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्नेछ । हिजो (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । 

भेटवार्तामा गभर्नर नियुक्ति, कर्मचारीको सरुवा बढुवा, शिक्षक आन्दोलनबारे दुई संवाद भएको थियो । मूलतः त्रिवि उपकुलपति र गभर्नर भागबण्डाबारे एमालेसँग कुरा नमिलेको कांग्रेसका एक नेता बताउँछन् । 

उनका अनुसार एमालेले गभर्नरको दाबी गरेको छ भने त्रिवि कुलपति कांग्रेसलाई दिन तयार छ । तर, कांग्रेस प्रमुख सत्तारूढ र ठूलो दल भएको हैसियतले गभर्नर पाउनुपर्ने अडान राखेको छ । हालसम्म प्रधानमन्त्री ओलीले गभर्नरमा आफ्नो दाबी छाडेका छैनन् । 

ओलीले आफ्नो दाबी नछाडेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सरकारको विरोधमा उतारेको एमालेका एक नेताको आरोप छ । यी सबै विषयमा आज बस्ने संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ । 

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । संयन्त्रमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा पनि छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट