बालुवाटार गोप्य भेटवार्ता : देउवाले प्रधानमन्त्री ओलीलाई यसरी अगाडि बढ्न सकिन्नँ भनेपछि...
_3.png)
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो (मंगलबार) बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री ओली र देउवाबीच गोप्य भेटवार्ता भएको हो ।
उनीहरूबीच एक घण्टा लामो समय भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले देउवासँग कांग्रेस नेताहरू नै सरकारको आलोचनामा उत्रिएको भन्दै असन्तुष्टि पोखेको बालुवटार स्रोत बताउँछ ।
ओलीले कांग्रेस–एमाले मिलेर बनेको सरकार हो । ‘सरकारलाई सहयोग गर्नुको साटो उल्टै अलोचनामा उत्रिनु कांग्रेस नेताहरूले राम्रो गर्नुभएन,’ ओलीले भने ।
केही समय ओलीको कुरा सुनेपछि देउवाले सरकारका पनि केही कमजोरी छन् । यसलाई सच्याउनुको साटो उल्टै आलोचित हुने काम भइरहेको छ । देउवाले भने, ‘ओलीजी यसरी अगाडि बढ्न सकिन्नँ । यसो भन्दैमा सरकारको विकल्प खोजेको भने होइन । तर, गल्ति कमजोरी सच्याएर अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओली र देउवाबीच आधा घण्टा यसरी मन माझामाझ भएको बालुवाटार स्रोतले रैबारप्रेसलाई भन्यो । स्रोतका अनुसार त्यसपछि सरकारलाई ठोस रूपमा अगाडि बढाउन दुवै नेताबीच सहमति भएको छ ।
पछिल्लो केही सातायता प्रमुख सत्तारूढ कांग्रेस महामन्त्री गगनकुमार थापा, डा.शेखर कोइराला, एनपी साउद लगायतका नेताहरूले सरकारको चर्को आलोचना गरेका छन् ।
उनीहरूमध्ये थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुममै बिचौलियको पहुँच भएको बताएका छन् । देशको अर्थतन्त्र धरासायी बन्नुको प्रमुख कारण प्रधानमन्त्रीको पहुँचमा बिचौलिया हुनु उनको ठहर छ ।
त्यस्तै कोइराला र साउद लगायतले दुई ठूला दल मिलेर बनेको सरकारले जनतालाई डेलिभरी दिन नसकेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार गठन हुने अभिव्यक्ति दिएपछि सत्ता राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस