नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी नेताबीच बाक्लो भेटवार्ता, परिणाम सकारात्मक
.png)
काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस र प्रतिपक्षी माओवादी नेताहरूबीच भेटवार्ता बाक्लिएको छ । गत चैत अन्तिम साताबाट कांग्रेस सस्थापन इतर र माओवादी नेताहरूबीच भेटवार्ता जारी रहेको माओवादीनिकट स्रोत बताउँछ ।
पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेस निकै असन्तुष्ट छ । पार्टी महामन्त्री गगनकुमार थापा, एनपी साउद, संस्थापन इतरपक्षका नेता डा.शेखर कोइराला लगायतका नेताहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
महामन्त्री थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलीया पुग्ने गरेको बताएका छन् । बिचौलियाकै कारण अर्थतन्त्र धरापमा परेको उनको टिप्पणी छ । ओलीको बेडरुममै बिचौलीयाको पहुँच हुने कुरा आफूले आजसम्म थाहा नपाएको उनको भनाइ छ ।
आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्रीले अर्थतन्त्रमा अहिलेको समस्या भनेकै बिचौलियाको कारण भएको बताएका छन् । ‘म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले भने ।
त्यस्तै डा.कोइराला र साउद सरकारप्रति आक्रोशित छन् । दुई ठूला दल मिलेर बनेको दुईतिहाइको सरकारले जनतामा आशाभन्दा निराशा छाएको टिप्पणी गर्दै आएका छन् । यद्यपि सत्तासाझेदार दल एमालेका नेताहरूले भने हालसम्म कुनै आलोचना वा टिप्पणी गरेका छैनन् ।
त्यसैगरी प्रमुख प्रतिपक्षी माओवादीले सरकारको कार्यसम्पादन निकै कमजोर भएको बताउँदै आएको छ । उसले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार बिचौलीयाको आडमा बनेको टिप्पणी गरेको छ ।
एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन गत असारमा विघटन भएको थियो । त्यसयता माओवादीले सरकारप्रति औँला उठाउँदै आएको छ । उसले बिचौैलियाको सरकारले कुनै पनि जनमुखी कार्यसम्पदान गर्न नसक्ने जिकिर गरेको छ ।
यतिमात्रै होइन, अध्यक्ष प्रचण्डले सरकारको आयु लामो नभएको बताउँदै आएका छन् । ओली प्रधानमन्त्री नियुक्त भएयता छिमेकी मुलुकसँग सम्बन्ध सुधार्न नसकेको प्रचण्डको आरोप छ । ओली प्रधानमन्त्री नियुक्त भएको नौ महिना पुगिसक्दा पनि भारतले हालसम्म भ्रमणको निम्तो दिएको छैन भने ओलीकै कारण देशभित्रै पुनरउत्थानवादीहरू सल्बलाएको उनको अर्को आरोप छ ।
यहीँ मौकामा प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार गठन हुने अभिव्यक्ति दिएका छन् भने कांग्रेस–एमाले नेतृत्वको सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको बताइन्छ ।
माओवादी स्रोतका अनुसार कांग्रेसका केही शीर्ष नेतासँग छलफल भइरहको छ । एमालेसँगको सत्ता सहकार्यले आफूहरू कमजोर बन्नुका साथै जनस्तरमा अपमान भइरहेको कांग्रेस नेताको बुझाइ छ । एमालेभन्दा माओवादीसँग सत्तासहकार्य सहज हुने उनीहरू बताउँछन् । ओलीले आफूहरूसँग सल्लाह नै नगरी सरकारी काम मनमौजी अघि बढाएको भन्दै कांग्रेसका अधिकांश नेता रुष्ट छन् ।
एमालेसँग सत्ताको यात्रा लम्ब्याउन नहुने कांग्रेस संस्थापन इतरको जोड छ । तर, संस्थापन पक्षले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तथापि संस्थापन र इतरपक्षका नेताले माओवादीसँगको आन्तरिक छलफललाई निरन्तरता दिइरहेको स्रोत बताउँछ । छलफल सकारत्मक उन्मुख रहेको दुवै दलका नेताहरूको दाबी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस