पूर्वराजा र प्रचण्डप्रति एमाले आक्रामक, प्रधानमन्त्री ओलीको तल्लोस्तरको टिप्पणी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले) पूर्वराजा र प्रचण्डप्रति आक्रामक देखिएको छ । सोमबार एमाले सचिवालय बैठक पूर्वराजा ज्ञानेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रामक देखिएको हो ।
पूर्वराराजा शाहको ‘नेपाली जनतामा आएको जागरण’ भन्ने सन्देश र प्रचण्डको ‘नयाँ वर्षमा नयाँ सरकार गठन हुने’ अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको हो ।
‘उहाँ (पूर्वराजा)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नुभयो, के सरकारी कार्यालयमाथि भएको आक्रमणलाई जागरण भन्न मिल्छ ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको विकल्प स्विकार्य हुनसक्दैन, यो गति अघि बढी सक्यो,’ एमाले उपमहासचिव प्रदिप ज्ञवालीले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार गठन हुने भन्दै दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ ।
‘केही दिन अघि प्रचण्डले फेरी सरकार फेरिने कुरा गर्नुभयो । यो उहाँको सरकार बाहिर रहदाको पीडा हो । उहाँमा सत्ता प्राप्तिको आशक्ति देखिन्छ । तर, यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन । सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुँदैन,’ उनले भने ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डप्रति आक्रामक देखिएका छन् । नयाँ सरकार गठनको अभिव्यक्तिलाई लिएर उनले प्रचण्डमाथि तल्लोस्तरबाट टिप्पणी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस