कम्युनिष्ट एकता सम्भव छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता अझैँ सम्भव भएको बताएका छन् ।
प्रगतिशील लेखक संघको १३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै उनले नेकपा (एमाले), माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्टहरूको एकता सम्भव भएको बताएका हुन् ।
प्रचण्डले विगतमा एमाले–माओवादी एकता पश्चात् गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्मरण गर्दै उनले पुनः कम्युनिष्टहरू एकै ठाउँमा आउन सक्ने बताएका छन् ।
‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ । दुईतिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ,’ उनले भने, ‘पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन । हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’
उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस