आज साङ्केतिक भाषाहरूको विश्व दिवस मनाइँदै
सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

सातौँ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको दिवसको नारा ‘साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौँ’ रहेको छ।
संयुक्त राष्ट्रसंघको ७२औँ महासभाले २०१७ डिसेम्बर १९ मा हरेक वर्ष सेप्टेम्बर २३ तारिखलाई श्रवण शक्ति नभएका व्यक्तिहरूको सञ्चारको माध्यम साङ्केतिक भाषाको अधिकारलाई मान्यता दिँदै साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।
यसै क्रममा, संयुक्त राष्ट्रसंघले साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवसलाई विश्वभर भव्यताका साथ मनाउने निर्णय गरेको हो।
श्रवण शक्ति नभएका व्यक्तिहरूको (बहिरा) पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्म झण्डै सात हजार सङ्केत विकास गरेर शब्दकोश र मोबाइल ‘एप्लिकेशन’ पनि तयार गरिएको छ।
यसैबीच, राष्ट्रिय बहिरा महासङ्घ नेपालले अपाङ्गता सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयनको माग गरेको छ।
महासङ्घले साङ्केतिक भाषा दिवसको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति जारी गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र ऐनको कार्यान्वयनको आग्रह गरेको हो।
‘शिक्षा लगायतका ऐन कानूनी व्यवस्था र बहिरा नागरिकका अधिकारहरू सुनिश्चित गर्न, नभएका कानून निर्माण गरेर बहिरा समुदायको मूल प्रवाहिकरणका लागि सरकारी, गैरसरकारी, सञ्चार क्षेत्र, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि महासङ्घले आव्हान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
महासङ्घका अनुसार, बहिरा नागरिकका हकअधिकारमा विद्यमान कानूनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस