Techie IT
२०८२ वैशाख ८, सोमबार

आईसीसी विश्व कप क्रिकेट: क्यानडाले नेपाललाई पाँच विकेटले हरायो

नेपालले क्यानडामा जारी आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आफ्नो तेस्रो लगातार खेलमा हारको सामना गरेको छ।


नेपालले क्यानडामा जारी आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आफ्नो तेस्रो लगातार खेलमा हारको सामना गरेको छ। आज बिहान किंग सिटीमा भएको खेलमा नेपालले क्यानडासँग पाँच विकेटले हार व्यहोरेको हो। नेपालले त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा क्यानडासँग १०३ रनले हारिएको कुरा पनि स्मरणीय छ।

आज १८२ रनको लक्ष्य पछ्याइरहेका क्यानडाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो। क्यानडाका नवनीत ढलिवाल र प्रगत सिंहले अर्धशतकीय इनिङ्स खेलेका थिए। ओपनर एरोन जोन्सनले खाता नखोल्दै आउट भए, जबकि अर्को ओपनर ढलिवाल र प्रगतले दोस्रो विकेटका लागि १२२ रनको साझेदारी गरे।

ढलिवालले ११३ बलमा ८७ रन बनाए, जसमा ८ चौका र ४ छक्का समावेश थिए। त्यसैगरी, प्रगतले ८३ बलमा ६४ रन बनाए, जसमा ७ चौका र २ छक्का समावेश थिए। हार्श ठाकुरले १३ रन बनाएका थिए भने निकोलस कीर्तनले ११ रन बनाएका थिए।

नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन् भने करन केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिएका छन्। टस जितेर पहिले ब्याटिङ गर्न आएको नेपालले ४६.१ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो।

नेपालका लागि सन्दीपले ४८ बलमा ४९ रन बनाएका थिए। उनले ५ चौका र १ छक्का हिर्काएका थिए। यो सन्दीपको एकदिवसीय करियरको सर्वश्रेष्ठ ब्याटिङ हो। यसअघि उनले २०२३ मा पापुवा न्यू गिनीविरुद्ध ५० बलमा नन्ट आउट ३५ रन बनाएका थिए।

गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए, जसमा २ चौका र २ छक्का समावेश थिए। करन केसीले २४ रन बनाएका थिए भने सोमपाल कामीले २१ रन बनाएका थिए। अर्जुन साउद र अरिफ शेखले १०-१० रन बनाएका थिए, जबकि भीम सार्की र कप्तान रोहित पौडेलले ४-४ रन बनाएका थिए।

क्यानडाका लागि कलेम सानाले ३ विकेट लिएका छन् भने हार्श थाकर र डिलोन हायलिगरले २-२ विकेट लिएका छन्। प्रवीण कुमार र साद्विन जफरले १-१ विकेट लिएका छन्। नेपालले त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेल ओमानसँग मङ्गलबार खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट