विद्यालय बन्द तथा शैक्षिक क्रियाकलापमा रोक लगाउँदै हड्तालमा शिक्षक, सरकार मूकदर्शक

काठमाडौं । विगत चार दिनयता जारी शिक्षकहरूले सडक आन्दोलनलाई आमशैक्षिक हड्तालमा परिणत गरेका छन् ।
उनीहरूले शिक्षकलाई उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि शैक्षिक क्रियाकलापमा संलग्न नहुन भन्दै सडक आन्दोलनलाई आमशैक्षिक हड्तालमा परिणत गरेका हुन् ।
काठमाडौं केन्द्रित शिक्षकहरूले आफ्नोम माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।
देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरूलाई आग्रह गरेको छ । उसले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिदिन विद्यार्थी, अभिभावक, विव्यस लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गरेको हो ।
‘यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक(कर्मचारी साथीहरुलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौँ ।’
शिक्षकहरूले विद्यालय शिक्षा ऐन गर्न सरकारलाई २० गतेबाट सडक आन्दोलनमार्फत दबाब दिइरहेको छ । यद्यपि सरकारले हालसम्म यसबारे कुनै पहल गरेको छैन ।
हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस