शक्तिशाली भूकम्प
नेपाली सेनाले मेडिकल क्याम्पमार्फत म्यानमार भूकम्पका घाइतेहरूको उपचार गर्दै

काठमाडौं । म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उपचार नेपाली सेनाले गरिरहेको छ ।

उसले आफ्नो मेडिकल क्याम्पमार्फत घाइतेहरूको उपचार गरिरहेको छ । सेनाले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत म्यान्मारको एक शहरमा घाइतेको उपचार गरिरहेको जानकारी गराएको छ ।

‘म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गर्दै नेपाली सेनाको चिकित्सकीय टोली,’ सेनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
यहीँ महिनाको गत २० गते नेपाली सेनाको टोली भूकम्प पीडितलाई राहात तथा स्वास्थ्य सामाग्री बोकेर म्यान्मार प्रस्थान गरेको थियो । नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको छ ।

भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरूसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू पठाएको जनाएको थियो ।
म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन हजार नाघेको जुन्ता सरकारले जनाएको छ । ७ दिन पहिले ७.७ म्याग्नीच्यूडको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार ८५ पुगेको पुष्टि भएको छ ।
MYANMAR-MANDALAY-EARTHQUAKE-RELIEF+AND+RESCUEXxjpbeE007100_20250330_PEPFN0A001.jpg)
३४१ जना अझैँ बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको संख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताएका छन् ।

‘हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ उनले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस