चीनमा नयाँ तेल खानी भेटियो

चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठूलो तेल खानी पत्ता लगाएको जनाएको छ ।
चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९–६ तेलक्षेत्र रहेको कर्पोरेसनले जनाएको हो।
परीक्षण ड्रिलिङबाट दैनिक ४१३ ब्यारेल कच्चा तेल र ६८ हजार घनमिटर प्राकृतिक ग्यास उत्पादन भएको सीएनओओसीले जनाएको छ ।
सरकारी स्वामित्वको तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत झोउ सिन्ह्वाईले दक्षिण चीन सागरको पूर्वमा तेल र ग्याँस अन्वेषणमा क्रमिक सफलताको प्रशंसा गरे ।
सीएनओओसीले ‘लगातार दुई वर्षमा १० मिलियन टन तेल क्षेत्रहरू पत्ता लगाएको छ, जसले अपतटीय तेल र ग्याँस उत्पादनमा निरन्तर वृद्धिको लागि नयाँ आशा सिर्जना गरेको छ, उनले भने ।
अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण धेरै हदसम्म कम अन्वेषण गरिएको तर पत्ता लागेका अधिकांश तेल र ग्याँस निर्विवादित क्षेत्रमा रहेको बताएको छ ।
चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन् ।
सीएनओओसीका प्रमुख भूगर्भविद् जु चाङगुईले यो खोज ‘ठूलो सफलता’ भएको बताएका छन् ।
“यो खोजले भूगर्भीय भण्डारको हिसाबले दक्षिण चीन सागरको उत्तरी भागमा सबैभन्दा ठूलो ‘क्लास्टिक होल’लाई तेल क्षेत्र साबित गरेको छ,” उनले भने ।
अमेरिकी सरकारको विश्लेषणअनुसार गत वर्ष दैनिक एक करोड ११ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको चीन विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो ।
तपाईको प्रतिक्रिया दिनुहोस