अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार, नागरिकता लिन कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन यो सेवा उपलब्ध गराइएको हो।
वैशाखयता, कार्यालयको टोलीले जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिसकेको छ। अर्यालले भने, “नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनु पर्ने भए पनि, अपाङ्गता भएका व्यक्तिहरूका लागि जनप्रतिनिधि मार्फत कागजात तयार गरेर घरमै नागरिकता प्रदान गर्ने गरिएको छ।”
मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले भने, “छोरालाई नागरिकता बनाउन सदरमुकाम लैजान नसक्दा टोलीले घरमै आएर नागरिकता दिँदा धेरै खुसी लागेको छ।”
स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई घरमै नागरिकता प्रदान गर्दा सजिलो भएको बताइन्।
शुक्रबार, मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएका बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी प्रमिला खतिवडा, विमल लिम्बू, र सञ्सिता लिम्बूलाई पनि घरमै नागरिकता प्रदान गरिएको थियो। शनिबार पनि पाँचजना अपाङ्गता भएका व्यक्तिहरूलाई यो सेवामा पहुँच प्राप्त भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस