विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको तयारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जन गर्ने तयारी गरिरहेको छ। शिक्षामन्त्री विद्या भट्टराईले असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गरेर पाठ्यक्रमलाई व्यवहारिक बनाउने परिमार्जन गर्ने बताइन्।
मन्त्री भट्टराईका अनुसार, पाठ्यपुस्तकको सट्टा पाठ्यक्रमलाई व्यवहारिक बनाउन परिमार्जन आवश्यक छ, र त्यसका लागि विज्ञहरूको सुझाव लिइनेछ। शिक्षा पत्रकार समूहको २५ औँ वार्षिकोत्सवमा बोल्दै उनले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण र तथ्यांकसमेत सङ्कलन भइसकेको जानकारी दिइन्।
उनले कक्षा १० मात्रै नभएर आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकनलाई व्यवस्थित बनाउन पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिइन्। साथै, शिक्षालाई राज्यको दायित्व भनिए पनि शिक्षकलाई मात्र जिम्मेवारी दिइएको र त्यसको प्रभावकारी व्यवस्थापन नभएको उनले औंल्याइन्।
मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क भनिए पनि, यसको कार्यान्वयनका लागि तयारी नभएको भन्दै सरकारको आलोचना गरिन्। विद्यालय शिक्षाको जिम्मेवारी सरकारले लिँदै स्थानीय तहलाई सक्षम र समृद्ध बनाउनुपर्ने आवश्यकता उनले राखिन्।
तपाईको प्रतिक्रिया दिनुहोस