आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन

काठमाडौं । आजदेखि काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकको भूगर्भविद्हरूबीच भूगर्भको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्नु, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदान–प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताए । “जलवायु परिवर्तनको असर बढिरहेको छ । यी समस्याहरूको पहिचान तथा समस्या समाधानका लागि जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालनका लागि सहकार्य हुने तथा ज्ञान आदान–प्रदानमा सहयोग पुग्नेछ,” उनले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस