मुलुकको ध्यान मधेस केन्द्रित छ : प्रचण्ड

सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन् ।
जनतासँग माओवाद, तराई–मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए ।
मधेसी जनताले भोगेको विभेद र अपमान मदेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको बताए । झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।
समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया दिनुहोस