प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी, आयोजकबाटै कुटिए दर्शक

काठमाडौं । केपी ओली कप चलिरहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी भएको थियो ।
नाराबाजी गर्ने केही युवक उक्त कपको आयोजकबाट कुटिएका छन् । हिजो (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केपी ओली कपमा मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त भइरहेको थियो ।
त्यति नै बेला दर्शकदीर्घाबाट प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी भएको थियो । त्यसपछि आयोजक राष्ट्रिय युवा संघका सदस्य दर्शकमाथि जाइलागे ।
घटनाको भिडियोमा नाराबाजी गर्ने व्यक्तितिर दुईजना कुटपिट गरेर आएको देखिन्छ । तीमध्ये एक जनाले स्ट्यान्ड छुट्याउन राखिएको बार नै नाघेर समर्थकलाई लातले भकुर्छन् ।
युवा संघ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसी भने प्रधानमन्त्रीविरुद्ध नारा लगाएका कारण दर्शकमाथि हातपात भएको अस्वीकार गर्छन् ।
सोमबार सम्पन्न फाइनलमा आर्मीलाई २–० ले हराउँदै मछिन्द्रले केपी ओली कपको उपाधिमा हात पारेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस