यी ९ जना व्यक्तित्वलाई 'राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार-२०८१'
सरकारले यसवर्ष शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान पुर्याउने ९ जनालाई 'राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार-२०८१' ले सम्मान गर्ने भएको छ। उक्त पुरस्कार वितरण कार्यक्रम बुधबार, राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरिनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यसवर्षको पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छ। यो वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमाललाई सम्मान गरिनेछ।
वातावरणतर्फ काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा. नानी राउत, ऊर्जातर्फ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा. श्रीराज शाक्य, र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. माधवप्रसाद पाण्डेयलाई पुरस्कार दिइनेछ।
उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद दवाडी सम्मानित हुनेछन्। विद्यालय शिक्षातर्फ काठमाडौंको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ नेपाल विशेष अनलाइनका पत्रकार छत्र कार्की, र कर्मचारीतर्फ मन्त्रालयकी सि.डि.ई. मनिषा महर्जनलाई पनि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस