सिंहदरवार भित्र मात्रै हैन आफ्नै केन्द्रीय कार्यालयमा चल्दैन वाणिज्य वैंकको ATM
राष्ट्रिय वाणिज्य वैंकका एटिएमहरु न त संसद भवन नजिक, न सिंहदरवार भित्र न आफ्नै केन्द्रिय कार्यालय भित्र, न त बालुवाटारमा नै चल्छन् । जहिले समस्या देखाइरहने एटिएम मेसिनहरू लाई बनाउन सम्बन्धित पक्षको कुनै चासो छैन ।
के तपाई आफ्नो खातामा पैसा छ भन्दैमा एटिएम बाट आफ्नो पैसा जति बेला पनि निकाल्न सक्छु भन्ने सोचमा हुनुहुन्छ भने राष्ट्रिय वाणिज्य वैंकको एटिएमले भने तपाइएको सोच पुरा नगर्न सक्छ । राष्ट्रिय वाणिज्य वैंकका एटिएमहरु न त संसद भवन नजिक, न सिंहदरवार भित्र न आफ्नै केन्द्रिय कार्यालय भित्र, न त बालुवाटारमा नै चल्छन् । जहिले समस्या देखाइरहने एटिएम मेसिनहरू लाई बनाउन सम्बन्धित पक्षको कुनै चासो छैन ।
सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य वैंकले ग्राहक लाई दिने सुविधामा भने पछि परिरहेको छ । आफ्नो खातामा रहेको पैसा ग्राहक जोकोहीले जहिले पनि निकाल्न पाउनु ग्राहको कर्तव्य हो । नेपालमा सरकारी संस्थानतर्फको ग्राहकहरूलाई दिने सेवा, ग्राहकहरू सँग गर्ने व्यवहार ठिक छैन भन्ने आमगुनासो भैरहँदा राष्ट्रिय वाणिज्य वैंकको राजधानी काठमाण्डौंका प्रमुख स्थानहरूमा एटीएम चलिरहेका छैनन् । एटिएम नचल्ने समस्या राष्ट्रिय वाणिज्य वैंकको एकदिन, एक हप्ता दिनको मात्र समस्या नभइ कुनै शाखामा त महिनौं दिन सम्म पनि एटिएम नचल्ने समस्या रहेको छ ।
श्रावण 32 गते दिउँसो 12 बजे तिर एक ग्राहक वाणिज्य वैंकको पुतलीसडकको शाखामा पैसा निकाल्न जाँदा त्यो एटिएमले काम गरेको थिएन । सोही ग्राहक सिंहदरवारको पूर्वी गेटको छेउमा रहेको राष्ट्रिय वाणिज्य वैंकको केन्द्रीय कार्यालयको गेटमा जाँदा पनि त्यहाँका 3 वटा एटिएमहरुले काम गरेनन् । वैंकको केन्द्रिय कार्यालयको भित्र एक तला माथि एउटा एटिएम मेसिन छ । केन्द्रिय कार्यालयको भित्र एक तला माथिको एटिएम पनि चलेन।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र राष्ट्रिय वाणिज्य वैंकका दुईवटा शाखा कार्यालय र दुईवटा एटिइम मेसिनहरु रहेका छन् । हप्ता दिन सम्म पनि सिंहदरवारका एटिएमहरु चलिरहेकै छैनन् । त्यसैगरी, नयाँबानेश्वर स्थित संसद भवनको पुर्वि गेट नजिक रहेको विणिज्य वैंकका दुई वटा एटिएम मेसिनहरु छन् । सबै भन्दा धेरै मानिसहरुको चहलपहल हुने वानेश्वरमा पनि वाणिज्य वैंकको एटिएम मेसिनले काम गर्दैनन् ।
मेसिनमा प्राविधिक समस्या आउनु सामान्य रुपमा लिन सकिन्छ तर समस्या लाई समयमै समाधान नगर्नु ठुलो गैर जिम्मेवारीपन हो । तर, राष्ट्रिय वाणिज्य वैंकको छेउमै रहेका अरु वैंकहरुका एटिएमहरु जहिले चलिरहेका हुन्छन् । ग्राहकहरूले एक वैंकको एटिएम अर्को वैंकमा प्रयोग गर्दा पन्ध्र देखि माथि थप शुल्क तिर्नुपर्ने वाद्यता रहेको छ । हाल प्राय ठाउँहरुमा क्युआर कोडमा स्यान गरेर पेमेन्टको कार्य भैरहेको हुन्छ । क्युआरकोड नभएको ठाउँमा ग्राहकहरुले नगद नै कारोबार गर्नुपर्दा चाहिएको वेला एटिएमले काम गर्दा ग्राहकहरूलाई मर्का पर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस