Techie IT
२०८१ चैत्र २०, बुधबार

राधिकाको आत्मकथा ‘करुणा’ २४ क्यारेटको छ - प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताएका छन् ।

पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा हिजो प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको उनको भनाइ थियो । “हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन”, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”

देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए । “जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरू पनि छन् । सायद तिनीहरू श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन्”, उनले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरूले घर सम्पत्ति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पत्ति हो ।”     
    
बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको होः शाक्य     
लेखक तथा प्रथम महिला शाक्यल देशका लागि निरन्तर सक्रिय प्रधानमन्त्री ओली जस्तो व्यक्तिबारे अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन् । 

आफूूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखेकी थिइन् । “हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो”, प्रथम महिला शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।” 

कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उहाँहरूलाई बधाइ दिनुका साथै सम्मान गरिएको थियो ।     



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट