सार्क रोक्न जिम्मेवार को हो सबैलाई थाहा छ : भारत

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा अवरोध पुर्याउन जिम्मेवार देश र गतिविधिहरूबारे दक्षिण एसियाली मुलुकलाई स्पष्ट जानकारी रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता रणधीर जैसवालले देशको नाम नलिइकन पाकिस्तानको गतिविधिले सार्कलाई प्रभावकारी बनाउन बाधा पुर्याइरहेको सङ्केत गरेका छन् । उनले भने, "दक्षिण एसियाका सबैलाई थाहा छ कुन देश र गतिविधिहरू सार्कको प्रगतिमा अवरोध हुन् ।"
बङ्गलादेशको नयाँ दबाबले सार्क पुनरुत्थानबारे छलफल चुलिएको बेला भारतीय धारणा सार्वजनिक भएको हो। ओमानको मस्कटमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार मोहम्मद तौहिद हुसैनबीच सार्क र द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रवक्ता जैसवालले बताए ।
बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशलाई आतङ्कवाद सामान्यीकृत गर्न नहुने भारतको चिन्ता व्यक्त गरेका थिए । "विदेशमन्त्रीले आतङ्कवादविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए," जैसवालले भने।
जयशङ्करले एक्समार्फत बङ्गलादेशसँगको कुराकानी बिमस्टेक, द्विपक्षीय सम्बन्ध, र प्राविधिक तथा आर्थिक सहकार्यमा केन्द्रित रहेको उल्लेख गरेका छन्। उता, बङ्गलादेशले गङ्गा जल सन्धि नवीकरण र सार्क स्थायी समितिको बैठक पुनः सुरु गर्ने पहलको महत्त्व जोड दिएर भारतलाई विचार गर्न अनुरोध गरेको छ ।
सार्क दक्षिण एशियाका आठ सदस्य राष्ट्र (अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का) को क्षेत्रीय अन्तरसरकारी सङ्गठन हो, जसको उद्देश्य क्षेत्रीय विकास र सहकार्य प्रवर्द्धन गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस