Techie IT
२०८२ वैशाख ६, शनिबार

आँखा देख्न पाउँदा सेतीमायाको जीवनमा उज्यालो


महोत्तरी । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन । प्रजातन्त्र दिवसको अर्थ र महत्व नबुझेरै अरुले भनेकै भरमा ‘जिन्दावाद’ भन्ने गरेकी तामाङलाई यसपालि भने अब कहिल्यै नबिर्सने गरी यो दिनको सम्झना रहने भएको छ । 

प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो । 

यसपालिको प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार आफ्नै बस्तीमा आँखा जाँच गर्न पाउनु भएकी उनको बुधबार मोतियाविन्दुको शल्यक्रिया भएको छ । अबका केही दिनभित्रै शल्यक्रिया गर्दा लगाएको पट्टी खोलिएपछि झलमल्ल संसार हेर्ने खुसीले उनी विभोर भइन् । “आफ्नै गाउँबस्तीमा आएका डाक्डरबाबुले आँखा जाँचेर अपरेसन गर्नुपर्छ भनिन् । आज उहाँहरूले नै लिएर अपरेसन गराएर घर पुर्‍याई दिनुभएको छ”, सेतीमायाले भनिन्, “अब त भोलिपर्सि नै पट्टी खोलेपछि सबै उज्यालो देख्नेछु ।” पछिल्लो एक दशकयता मोतियाविन्दुले समस्या भएपछि आसै घरको आँगन ननाघेकी उहाँको अब पूरै गाउँ घुम्ने रहर छ । 

सेतीमाया मात्र होइन काछबस्तीकै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको पनि बुधबार नै मोतिविन्दुको शल्यक्रिया भएको छ । उहाँहरूलगात मोतिविन्दु भएका १७ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । “फेरि आँखा उघ्रेर संसार हेर्न पाइने भो, बुढेसकालमा योभन्दा खुसी हुन अरू के चाहियो र !” ७६ वर्षीया गोपीमाया धागाले भनिन्, “यो बन्दोबस्त मिलाइदिने सबैको जय होस् ।” 

यसपालि प्रजातन्त्र दिवसको अवसर पारेर आँखा जाच शिविर आयोजना गरिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताए । शिविरमा आँखा जाँच गरिएका ३५० जनामध्ये १७ जनामा मोतिविन्दु देखिएपछि शल्यक्रिया गरेको र एक सयभन्दा बढीलाई आँखा जाँचपछि चस्मा र दुई सय जनालाई औषधि दिइएको उनले जानकारी दिए । 

कतिपय पछिल्ला १० वर्षदेखि आँखा समस्या भएर पनि उपचार गर्न गएका थिएनन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित शिविर निकै लाभदायक भएको बर्दिबास–५ का वडाअध्यक्ष काहरमान स्याङ्वाले बताए । “आर्थिक स्रोतको अभावमा आँखाको उपचार र शल्यक्रिया गराउन नसक्ने अवस्थाका अत्यन्त विपन्न परिवारका सदस्यले प्रजातन्त्र दिवसका अवसरमा आँखा जाँचदेखि शल्यक्रियासम्मको सुविधा पाए । यो निकै अविष्मरणीय र सराहनीय कार्य हो”, उनले भने । 

यसका लागि अष्ट्रेलियाको तस्मानियाँस्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक स्रोत जुटाइदिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष पुरीले जानकारी दिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट