अमेरिकाबाट निर्वासित अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह अमृतसरमा अवतरण

अमेरिकाबाट ११२ जना अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान आइतबार राति भारतको अमृतसर विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी आप्रवासन नीति अन्तर्गत अवैध रूपमा बसोबास गरिरहेका भारतीय नागरिकहरूलाई चरणबद्ध रूपमा स्वदेश फिर्ता पठाउने अभियान जारी रहेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेलगत्तै अवैध आप्रवासीहरू विरुद्ध कडा नीति लागु गरेका छन् । यसअन्तर्गत विभिन्न देशका अवैध आप्रवासीहरूलाई पक्राउ गरी स्वदेश फिर्ता पठाउने अभियान तीव्र रूपमा अघि बढाइएको छ । भारतीय आप्रवासीहरू पनि सोही अभियानको चपेटामा परिरहेका छन् ।
तीन चरणमा आप्रवासी फिर्ता
यसअघि शनिबार राति ११६ जना भारतीय आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाइएको थियो भने फेब्रुअरी ५ मा १०४ जना भारतीय नागरिकलाई अमृतसर ल्याइएको थियो । यसरी पछिल्ला केही हप्तामा तीन चरणमा गरी ३३२ जना अवैध भारतीय आप्रवासीहरूलाई स्वदेश फिर्ता पठाइएको छ ।
भारतीय अधिकारीहरूले फिर्ता पठाइएका नागरिकहरूको आप्रवासन प्रमाणीकरण, पृष्ठभूमि जाँच तथा अन्य कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई आफ्नो घर जान अनुमति दिइने बताएका छन् । अधिकारीहरूका अनुसार भारत सरकारले अवैध रूपमा विदेशमा बसिरहेका आफ्ना नागरिकहरूको पुनर्वासका लागि आवश्यक तयारी गरिरहेको छ।
गत हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध रूपमा अमेरिका रहेका भारतीय नागरिकहरूलाई स्वदेश फिर्ता लिने भारत सरकारको तयारीबारे जानकारी गराएका थिए। भारतले आफ्ना नागरिकहरूलाई कानुनी प्रक्रिया अनुसार पुनःस्थापित गर्न आवश्यक पहल गर्ने मोदीको भनाइ थियो ।
अमेरिकाको कडा आप्रवासन नीतिका कारण अन्य देशका नागरिकहरू जस्तै भारतीयहरू पनि ठूलो संख्यामा स्वदेश फिर्ता गरिँदैछन् । आगामी दिनमा थप भारतीयहरू अमेरिका फिर्ता पठाइने सम्भावना रहेको अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस