मोरङको ग्रामथानमा जुवा खालमा छापा, पूर्व अध्यक्षसहित ९ जना पक्राउ
मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा लामो समयदेखि सञ्चालित अवैध जुवा खालमा प्रहरीले शनिबार राति छापा हानेको छ। उक्त छापाबाट ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीले महोत्तरी, धरान, दमक, र दुहबी लगायतका स्थानका मानिसहरू जुवा खेल्न कटहराको बाँसघारीभित्र पुग्ने गरेको जनाएको छ। पक्राउ परेकाहरूमा ग्रामथानका पूर्वअध्यक्ष शिवनारायण माझी, महोत्तरीका महेश साह, धरानका युवक राई, दुहबीका जयकिशोर साह, दमकका ऋतुवर्ण नेम्वाङ, सुन्दरहरैँचाका जनककुमार मास्के, प्रताप राई, अहिलाल माझी, र लेटाङका लोकनाथ सापकोटा रहेका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा लामो समयदेखि चलिरहेको जुवा खाल नियन्त्रणमा लिन डीआईजी चन्द्रकुवेर खापुङ र एसपी नवराज कार्कीको नेतृत्वमा संयुक्त टोली परिचालन गरेको थियो। जुवा खालबाट नगदसहित कौडा, तास, पाडर, काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको एसपी कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार, जुवा खाललाई ‘बाह्रमासे’ रूपमा चिनिन्थ्यो र त्यसलाई व्यवस्थित रूपमा कसले सञ्चालन गरिरहेको थियो भन्ने अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूले केही नबोलेको र अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस