international
जर्मनीको अर्को चान्सलर बन्ने दौडमा फ्रेड्रिक मेर्ज, आप्रवासनमा कडाइ र व्यवसायमैत्री नीति

जर्मनीको आगामी चान्सलरका रूपमा क्रिश्चियन डेमोक्रेट पार्टी (सिडियु) का नेता फ्रेड्रिक मेर्जको नाम अगाडि आएको छ। उनले आफ्नो पार्टीलाई कन्जरभेटिभ जरा फर्काउने, व्यवसायलाई टेवा दिने र आप्रवासन नीति कडा बनाउने प्रतिबद्धता जनाएका छ ।
पूर्व चान्सलर एन्जेला मर्केलको उदारवादी आप्रवासन नीतिको खुला आलोचक रहेका मेर्जले संसद्मा यस विषयमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थन स्वीकार गरेर विवाद निम्त्याएका छन् ।
७० वर्षका यी कानून व्यवसायीको बलियो कर्पोरेट पृष्ठभूमि छ। ब्ल्याकरकजस्ता ठूला लगानी संस्थामा कार्यरत रहँदा उनी करोडपति बने। तर, उनले अहिलेसम्म कुनै पनि सरकारी नेतृत्वको जिम्मेवारी सम्हालेका छैनन् ।
मेर्जले सीमामा कडाइ गर्दै कागजातविहीन आप्रवासीहरूलाई रोक्ने योजना अघि सारेका छन् । साथै, निर्वासन प्रक्रियामा रहेका व्यक्तिहरूलाई हिरासतमा राख्ने उनको प्रस्तावले जर्मनीमा विवाद चुलिएको छ ।
उनले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भन्दै आलोचना गरेका थिए, भने युक्रेनी शरणार्थीहरूलाई ‘कल्याण पर्यटन’ को आरोप लगाएका थिए। पछि भने उनले माफी माग्नुपरेको थियो ।
उनले बिग्रँदै गएको अर्थतन्त्रलाई पुनर्जीवन दिने र जर्मनीलाई फेरि अन्तर्राष्ट्रिय गर्व गर्न सक्ने राष्ट्र बनाउने वाचा गरेका छन्। यसै क्रममा उनले ‘शून्य सहनशीलता’ नीति, गाँजा वैधानिकताको खारेजी, ‘वोक’ नीतिहरूको समीक्षा, लैङ्गिक–संवेदनशील भाषामा कटौती र आणविक ऊर्जामा पुनर्विचार गर्ने बताएका छन् ।
हालका चान्सलर ओलाफ स्कोल्ज नेतृत्वको सरकारलाई ‘असफल’ भन्दै उनले संसद्मा कडा टिप्पणी गरेका छन् । उनले स्कोल्ज र उनका सहयोगीहरूलाई "दिवालिया भइसकेका व्यवसाय प्रबन्धकहरू" जस्तो रहेको कटाक्ष गरे ।
तर, मेर्जको व्यक्तिगत स्वीकृति दर न्यून छ। उनले सरकारको नेतृत्व गर्न गठबन्धन आवश्यक पर्ने सम्भावना छ, जसका लागि उनलाई केही नीति नरम पार्नुपर्ने हुन सक्छ ।
स्कोल्जले मेर्जलाई ‘चिडचिडाहट व्यक्ति’ भन्दै उनको दक्षिणपन्थी झुकावलाई लिएर चेतावनी दिएका छन्। आलोचकहरूका अनुसार, एएफडीसँगको उनको सम्बन्धले भविष्यमा अतिदक्षिणपन्थी गठबन्धन बन्ने सम्भावना देखाउँछ । तर, मेर्जले यस्तो कुनै गठबन्धन नहुने दाबी गर्दै आलोचनालाई अस्वीकार गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस