ट्रम्प र पुटिन साउदी अरेबियामा युक्रेन वार्ताका लागि भेट्दैँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन् ।
ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए ।
तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता लागेको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो । लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरेका छन् ।
“हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने ।
ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गर्नुभएको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिनुभएको बताइएको छ । जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गरेका थिए ।
यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुस/युक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पारेका थिए ।
अमेरिकी राष्ट्रपतिले उहाँहरू ‘एक–अर्काको राष्ट्रको भ्रमण सहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताएका थिए । ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गरे । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल थिएनन् ।
किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताएका छन् ।
“टोलीहरूले दैनिक कामको प्रक्रिया सुरु गर्नेछन् र जेलेन्स्की र उहाँका अधिकारीहरूले एक दिनपछि म्युनिख सुरक्षा सम्मेलनमा संलग्न अमेरिकी अधिकारीहरूसँग भेट्नेछन्”, येर्माकले भने । तर पुटिनसँगको ट्रम्पको फोन वार्ताले संयुक्त राज्य अमेरिकाले रुसका सर्तहरूमा सहमत भएको चिन्ता बढाएको छ ।
पेन्टागन प्रमुख पिट हेग्सेथले बुधबार युरोपेली समकक्षीहरूसँग युक्रेनको सन् २०१४ पूर्वको सीमामा फर्कने सपना ‘भ्रमपूर्ण लक्ष्य’ हो र किएभको नाटो सदस्यताको चाहना ‘यथार्थवादी छैन’ भनेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस