Techie IT
२०८२ वैशाख ११, बिहीबार

ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का महानिरीक्षक पल मार्टिनलाई बर्खास्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरू वासिङ्टन पोस्ट, सिएनएन लगायतका रिपोर्टअनुसार, मार्टिनको बर्खास्ती उनको कार्यालयले ट्रम्प प्रशासनको युएसएड विघटन गर्ने प्रयासको आलोचना गर्दै प्रतिवेदन जारी गरेपछि भएको हो ।

ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेलमा उनको पद तत्काल लागू हुने गरी समाप्त भएको जनाइएको थियो। तर, बर्खास्तीको स्पष्ट कारण उल्लेख गरिएको थिएन ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप-वर्क अर्डर लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा दुरुपयोग हुने जोखिममा परेको मार्टिनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो । उक्त प्रतिवेदनले युएसएडमा धोखाधडी, फजुल खर्च तथा दुरुपयोग रोक्न सुधार गर्नुपर्ने सिफारिस गरेको थियो।

प्रतिवेदनमा हालैको व्यापक कर्मचारी कटौती, विदेशी सहायता छुटको दायरा, र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका कारण युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण गर्ने क्षमता कमजोर भएको उल्लेख छ।

राष्ट्रपति ट्रम्पले यसअघि नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका छन् । ती सबै सङ्घीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए । तर, जो बाइडेनद्वारा नियुक्त मार्टिन पदमा रहेका थिए ।

ट्रम्पको युएसएड विघटन अभियान

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि एलन मस्कको नेतृत्वमा सरकारी निकायहरू घटाउने अभियान थालेका छन् । विश्वभर मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था युएसएड मुख्य निशानामा परेको छ ।

युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभरि वितरित अमेरिकी मानवीय सहायताको ४२ प्रतिशत हिस्सा हो । चीनलगायतका प्रतिस्पर्धीहरूसँग प्रभाव जमाउनका लागि यसलाई अमेरिकी ‘सफ्ट पावर’ को महत्त्वपूर्ण स्रोतका रूपमा हेरिएको थियो ।

ट्रम्प प्रशासनले विदेशी सहायता रोकेर हजारौँ अन्तर्राष्ट्रिय कर्मचारीलाई फर्कन आदेश दिएको छ । साथै, युएसएडका १० हजार कर्मचारी कटौती गरी केवल तीन सय जनामा सीमित गर्ने योजना अघि बढाएको छ ।

श्रमिक युनियनहरूले प्रशासनको निर्णय विरुद्ध कानुनी चुनौती दिएका छन् । हालै, एक सङ्घीय न्यायाधीशले दुई हजार दुई सय युएसएड कर्मचारीलाई बेतलबी बिदामा राख्ने ट्रम्प प्रशासनको योजनामा रोक लगाउने आदेश दिएका छन् ।

डेमोक्रेट नेताहरूले ट्रम्प प्रशासनले व्यवस्थापिकाको अनुमतिबिना सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक भएको बताएका छन् । अमेरिकी विकास सहायता क्षेत्रमा देखिएको यो संकटले विश्वभर मानवीय सहायता प्रभावित हुने देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट