बालविवाह रोकथामका लागि शिक्षामा लगानी आवश्यकः मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालविवाहको मुख्य कारण गरिबी र सामाजिक मानसिकता रहेको बताए । उनका अनुसार गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक अभिभावकले छोरीको विवाहलाई आर्थिक बोझ कम गर्ने उपायको रूपमा लिने प्रवृत्तिले बालविवाहलाई अझै प्रश्रय दिइरहेको छ ।
जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आज ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’ र ‘बेस नेपाल’ का प्रतिनिधिहरूसँगको भेटमा मुख्यमन्त्री सिंहले बालविवाह रोक्न शिक्षामा पहुँच विस्तारको आवश्यकता औँल्याए ।
मुख्यमन्त्री सिंहले बालिका शिक्षित भए दाइजो बढी दिनुपर्ने भ्रम समाजमा व्याप्त रहेको बताउँदै यस्तो गलत मानसिकता हटाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । उनका अनुसार विपन्न परिवारका अभिभावकले विद्यालय शिक्षा पूरा नगर्दै छोरीको विवाह गरिदिने चलन हटाउन सरकार, समाज र गैरसरकारी संस्थाहरूको सहकार्य अपरिहार्य छ ।
बालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्न सरकारले विभिन्न योजनाहरू ल्याइसकेको उल्लेख गर्दै उहाँले मधेस प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षणको व्यवस्था रहेको जानकारी दिए । साथै, महिलाहरू चिकित्सा, इञ्जिनियरिङ, प्रशासनजस्ता क्षेत्रमा अब्बल देखिनु समाजका लागि सकारात्मक संकेत भएको बताए ।
मुख्यमन्त्री सिंहले बालविवाहविरुद्ध सचेतना जगाउन गैरसरकारी संस्थाहरू, अभिभावक, शिक्षक र समुदाय सबैलाई अझ बढी सक्रिय हुन आग्रह गरे । साथै, उनले बालविवाह उन्मूलनका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै यसलाई सामाजिक समस्या र कानुनी अपराधको रूपमा लिएर रोकथाम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस